सर्लाही, ०१ भदाै । रौतहटमा कृष्णाष्टमीको मेलामा दुई पक्षबीच झडप हुँदा तीन जना घाईते भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिबार आयोजित कृष्णजन्माष्टमी मेलामा उद्घाटन कार्यक्रमलाई लिएर विवाद चर्किँदा दुवै पक्षबीच झडप भएको हो । झडपमा परी देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह कानु सहित तीन जना घाइते भएका छन् । स्थानीयका अनुसार मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने तयारी नगरप्रमुख पक्षले गरेपछि अर्को समूहले आपत्ति जनाउँदै विरोध जनाएको थियो।सोही विषयमा वादविवाद बढ्दै गएर अवस्था हाताहातीसम्म पुगेको हो । झडप नियन्त्रणको प्रयास गर्ने क्रममा प्रहरीसमेत घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार नगरप्रमुख कानुको टाउकोमा गम्भीर चोट लागेर १७ वटा टाँका लगाइएको छ भने अन्य प्रहरी र स्थानीयहरूलाई सामान्यदेखि मध्यम चोटपटक लागेको छ । उक्त घटनापछि मेलास्थलमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। हाल स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *