सर्लाही, १३ भदाै । गत बुधबार भोटेकोशी (त्रिशूली) नदीमा आएको आकस्मिक बाढीका कारण तीन दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबारबाट आंशिक रूपमा सञ्चालनमा आएको छ ।
६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग बाढीपहिरोका कारण ठुलो मात्रामा लेदो जमेपछि अवरुद्ध बनेको थियो ।
गजुरी गाउँपालिका– ५, गलौदीमा जमेको लेदो पन्छाएपछि सवारीसाधनलाई एकतर्फी रूपमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।
‘गजुरीको गलौदीमा लेदो पन्छाएर बाटो सञ्चालनमा ल्याइएको छ । गजुरीआसपास होल्डमा रहेका सवारीसाधनलाई गलौदी क्रस गराइएको छ,’ प्रहरी नायब उपरीक्षक दाहालले भने, ‘तर, राजमार्ग पूर्ण रूपमा खुलेको छैन ।
बैरेनी, महेशदोभान, बाङ्गे, जरेखेत र गलौदीलगायत क्षेत्रमा ठुलो मात्रामा लेदो जमेको छ । पन्छाउने काम भइरहेको छ ।’
राजमार्ग आंशिक रूपमा खुले पनि सडकमा अझै लेदो र माटो थुप्रिएकाले नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । ‘सडक खुलाउने क्रममा सडकको छेउकुनामा जमेको लेदो टन्नै छ ।
लेदो नसुकिसकेकाले पन्छाउन पनि समस्या भएको हो । धादिङ खण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बिचबाटोमै रोकिएका थिए । जमेको लेदो पन्छाएर होल्ड भएका सवारी पठाइएको छ,’ उनले भने ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले पनि पृथ्वी राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा नआएको बताइन् ।
‘होल्ड रहेका सवारीसाधन, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनलाई मात्र खुला गरिएको हो,’ उनले भनिन्, ‘थप समस्या नआए सार्वजनिक तथा हेभी सवारीसाधनलाई पनि भोलिसम्म सञ्चालन गर्न सकिन्छ ।’
उनले अत्यावश्यक कामबाहेक पृथ्वी राजमार्गको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन् । ‘राजमार्गको यात्रा गर्नैपर्ने अति आवश्यक परे सम्बन्धित निकायबाट सूचना लिएर मात्रै यात्रा गर्नुहोला ।
भर्खरै राजमार्ग सञ्चालन रहेकाले भिडभाड हुने तथा दुर्घटनासमेत निम्त्याउन सक्ने हुँदा सुरक्षित यात्राका लागि सबैमा अनुरोध छ,’ उनले भनिन् ।
