सर्लाही, १७ भदाै । गत हप्ता नेपाल–चीन सीमाक्षेत्रमा भएको विनाशकारी हिमपहिरो र त्यसपछि आएको बाढी तथा हिलोको लेदोबारे चिनियाँ वैज्ञानिकहरूले नयाँ निष्कर्ष सार्वजनिक गरेका छन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत इन्स्टिच्युट अफ तिब्बतियन प्लेटोको नेतृत्वमा गरिएको संयुक्त अध्ययनले विपद्को मुख्य कारण तत्कालको भारी वर्षा नभएको देखाएको छ ।
भदौ १० गते बिहान नेपालको लाङटाङ लिरुङको उत्तरी भेगस्थित उच्च हिमाली क्षेत्रमा ठूलो मात्रामा बरफ र चट्टान खसेको थियो ।
तीव्र गतिमा गहिरो खोँच हुँदै तल झरेको बरफ–चट्टानको थुप्रोले बाटोमा थप सामग्री बगाउँदै अन्ततः विशाल हिलोको लेदोमा परिणत भएर चीनको तिब्बतस्थित केरुङ बन्दरगाहमा क्षति पुर्याएको अध्ययनले जनाएको छ ।
विपद्पछि चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बतियन प्लेटो डेटा सेन्टरले तत्काल अध्ययन सुरु गरेको थियो ।
वैज्ञानिकहरूले भूउपग्रहबाट खिचिएका तस्बिर, टोपोग्राफि (भू–भागको उचाइ, ढलान, बनावट र स्वरूपसम्बन्धी विवरण), भूकम्प मापन केन्द्रका अभिलेख, घटनास्थलका निगरानी क्यामेरा र अन्य भिडियो सामग्रीलाई एकीकृत गरी विपद्को सम्पूर्ण क्रम तत्काल मूल्यांकन गरेका थिए ।
तत्कालको भारी वर्षा मुख्य कारण होइन
अध्ययनअनुसार विपद्को स्रोत क्षेत्रमा विपद् आउनुअघि केही महिनासम्म वर्षा सामान्यभन्दा कम थियो। घटनाअघि तत्कालै ठूलो वर्षासमेत भएको थिएन ।
बरु, वर्षौँदेखि हिमनदी तुलनात्मक रूपमा तीव्र गतिमा सर्दै जानु, हिमनदीको अग्रभागतर्फ लगातार बरफ पुग्नु तथा त्यसअघि वसन्त र गर्मीमा सामान्यभन्दा बढी तापक्रम रहनुले उच्च हिमाली क्षेत्रमा हिउँ पग्लिने दर बढाएको र स्थायी तुषारो कमजोर बनाएको वैज्ञानिकहरूको निष्कर्ष छ ।
यसका कारण बरफ र चट्टानबीचको सतहको स्थिरता कमजोर हुँदै गएको र लामो समयको प्रक्रियापछि हिमनदी अचानक अस्थिर बनेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
यद्यपि, घटनाको तत्कालीन र निश्चित कारण के थियो भन्ने निष्कर्षमा पुग्न पर्याप्त प्रमाण अझै नभएको उनीहरूको भनाइ छ । तर उपलब्ध प्रमाणले यो विपद् छोटो समयको अत्यधिक वर्षाका कारण मात्र भएको होइन भन्ने देखाएको छ ।
२२ किलोमिटर यात्रा गर्दा थप सामग्री बगायो
वैज्ञानिकहरूले विपद्को विनाशकारी शक्ति प्रारम्भिक हिमपहिरोमा खसेको सामग्रीको मात्राले मात्रै निर्धारण नगरेको बताएका छन् ।
बाटोमा थप माटो, चट्टान र अन्य सामग्री मिसिँदै जानु विनाश बढ्नुको प्रमुख कारण बनेको उनीहरूको निष्कर्ष छ ।
अध्ययनअनुसार बरफ र चट्टानको थुप्रो करिब २२ किलोमिटर लामो खोँच हुँदै तल झर्दा बाटोमा रहेको नदीको सतह र खोँचको पिँध तथा आसपासका भिरबाट ठूलो मात्रामा सामग्री कटान गरेर आफूसँगै बगाउँदै लग्यो ।
नदीको पानीसँग मिसिएपछि प्रारम्भिक बरफ–चट्टानको पहिरो विशाल हिलोको लेदोमा परिणत भयो ।
यसरी बाटोमा थप सामग्री मिसिँदै जानु प्रारम्भिक घटनापछिको सामान्य प्रक्रिया मात्र नभई केरुङ बन्दरगाहसम्म पुग्दा विपद्को तीव्रता निर्धारण गर्ने महत्त्वपूर्ण प्रक्रिया रहेको वैज्ञानिकहरूले बताएका छन् ।
मुख्य घटनाअघि नै असामान्य संकेत
अनुसन्धानकर्ताहरूले मुख्य हिमपहिरो जानुभन्दा केही घण्टाअघि स्रोत क्षेत्रमा सम्भावित अस्थिरताका संकेतसमेत फेला पारेको जनाएका छन् ।
भूकम्प मापन केन्द्रका अभिलेखमा मुख्य घटना हुनुअघि केही स्पष्ट असामान्य संकेत देखिएका थिए । तीमध्ये केही संकेत घटनास्थलमा देखिएका साना बरफ तथा हिउँका गतिविधिसँग करिब उही समयमा देखिएको अध्ययनमा उल्लेख छ ।
यसबाट ठूलो पहिरो जानुअघि स्रोत क्षेत्रमा सानातिना बरफ तथा सामग्री खस्ने घटना भएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।
यस्ता संकेतलाई धेरै भूकम्प मापन केन्द्र, ध्वनि तरंगसम्बन्धी अभिलेख र भिडियो फुटेजबाट थप अध्ययन गर्नुपर्ने उनीहरूले बताएका छन् ।
तर यी संकेतले उच्च हिमाली क्षेत्रमा हिमनदी अस्थिर हुने छोटो अवधिको प्रक्रिया पहिचान गर्न तथा सम्भावित पूर्वसूचना प्रणाली विकास गर्न नयाँ आधार दिन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।
अध्ययनले जलवायु परिवर्तनका कारण उच्च हिमाली तथा चिसा क्षेत्रमा हुने विपद्को जोखिम मूल्याङ्कन गर्दा स्रोत क्षेत्रमा कति सामग्री खस्न सक्छ भन्ने कुरामा मात्र ध्यान दिन नहुने सुझाव दिएको छ ।
वैज्ञानिकहरूले स्रोत क्षेत्रको स्थिरता, बाटोमा थप सामग्री मिसिन सक्ने सम्भावना तथा तल्लो तटीय क्षेत्रमा रहेका मानिस र पूर्वाधारलाई समेटेर सम्पूर्ण विपद् शृङ्खलाको जोखिम मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।
अर्थात् जोखिम निर्धारण गर्दा पहाडबाट कति सामग्री खस्यो भन्ने मात्र होइन, खोँच हुँदै तल आउँदा कति थप सामग्री मिसिन सक्छ र त्यसको बाटोमा कस्ता बस्ती तथा महत्वपूर्ण पूर्वाधार छन् भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने अध्ययनको निष्कर्ष छ ।
वैज्ञानिकहरूले यो घटना उच्च हिमाली हिमनदीमा देखिएको अस्थिरता कसरी कटान र थप सामग्री मिसिने प्रक्रियामार्फत तीव्र गतिमा विनाशकारी हिलोको लेदोमा परिणत हुन सक्छ भन्ने स्पष्ट उदाहरण भएको बताएका छन् ।
अध्ययनले विपद्पछिको उद्धार, क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माणका लागि वैज्ञानिक आधार प्रदान गर्नुका साथै हिमालय क्षेत्रमा सीमापार विपद् निगरानी, पूर्वसूचना, जोखिम मूल्याङ्कन तथा संयुक्त रोकथाम र प्रतिकार्यका लागि समेत उपयोगी आधार दिने वैज्ञानिकहरूले बताएका छन् ।
