काठमाडौं, १४ असोज । नेपाली समयअनुसार, बुधबार अपराह्न पौने १ बजे यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको यात्रुवाहक विमान अपहरणमा परेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखे ।
तर, त्यो विमान अपहरणमा परेको नभई विमानभित्रै आपत्कालीन परिस्थिति निम्तिएको उल्लेख गर्दै साउदी अरबको ताबुक क्षेत्रीय विमानस्थल डाइभर्ट गरिएको खबर आयो । केही समय अगाडि उक्त विमान सुरक्षितरूपमा ताबुक क्षेत्रीय विमानस्थलमा अवतरण गरिसकेको छ ।
साउदी अरबको आकाशमा उडान भरिरहेकै अवस्थामा फ्लाई दुबईको उक्त विमानले दुई वटा आपत्कालीन संकेत पठाएपछि आकस्मिक अवतरण गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
फ्लाइट ट्र्याकिङ प्रणालीका अनुसार विमानले सुरुमा ‘स्क्वाक कोड ७७००’ पठाएको थियो। यो सामान्य आपत्कालीन अवस्थाका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय संकेत हो ।
त्यसको केही समयपछि विमानले ‘स्क्वाक कोड ७५००’ पठाएको थियो, जुन विमान अपहरण वा अन्य गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग गर्ने गरिन्छ । यही संकेतका कारण विमान अपहरणमा परेको हो कि भन्ने शंका गरिएको थियो ।
घटनापछि विमानले आफ्नो रुट फेरेको थियो । इजरायली सञ्चारमाध्यमका अनुसार आपत्कालीन संकेत प्राप्त भएपछि इजरायली वायु सेनाको लडाकु विमानसमेत उक्त विमानको रेकी गर्न परिचालन गरिएको थियो। केही समय विमान सम्पर्कविहीन भएपछि सम्भावित अपहरणसहित घटनालाई विभिन्न कोणबाट सुरक्षा निकायले अनुसन्धान थालेका थिए ।
तर, विमान अपहरण भएको पुष्टि भने भएन । इजरायली टेलिभिजन च्यानल एन–१२ का अनुसार विमानको ककपिटमा दुई पाइलटबीच झगडा भएपछि आपत्कालीन संकेत पठाइएको जानकारी दिएको छ ।
कलसाइन एफडीबी–१०७३ मा करिब १८० जना यात्रु सवार थिए । जसमा दर्जनौँ इजरायली नागरिकसमेत यात्रा गरिरहेका थिए । बोइङ ७३७ म्याक्स विमान जोर्डन–साउदी अरब सीमा क्षेत्रमाथि पुगेपछि यू–टर्न गर्दै साउदी अरबतर्फ डाइभर्ट गरिएको थियो ।
विमानको उडान विवरणअनुसार, उडान भरेको करिब दुई घण्टा १५ मिनेटपछि विमान ३४ हजार फिटको उचाइबाट केही मिनेटभित्रै करिब १७ हजार फिटमा झरेको थियो । त्यसक्रममा विमानको गति ४११ नटबाट करिब ६०० नटसम्म पुगेको देखिएको छ ।
त्यसपछि विमान केही समयका लागि करिब २१ हजार ६५० फिटसम्म उक्लिए पनि पुनः तीव्र गतिमा १४ हजार फिटभन्दा तल झरेको थियो । त्यसपछिको करिब एक घण्टासम्म विमानले स्थिर उचाइ कायम गर्न नसकेको विवरण सार्वजनिक भएको छ । घटनाका क्रममा विमान अटोपाइलटको सट्टा पाइलटले हातैले नियन्त्रण गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।
इजरायली अधिकारीहरूले विमानसँग सम्पर्क स्थापित गर्न नसकेपछि सम्भावित अपहरणको आशंकामा लडाकु विमान परिचालन गरेका थिए । घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र वरिष्ठ सैन्य अधिकारीले समेत छलफल गरेका थिए ।
पछि विमानसँग पुनः सम्पर्क स्थापित भएको थियो र साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो । इजरायली अधिकारीहरूका अनुसार ककपिटमा दुई पाइलटबीच झगडा भएपछि आपत्कालीन संकेत पठाइएको प्रारम्भिक जानकारी दिएका छन् । यद्यपि घटनाको विस्तृत कारणबारे फ्लाई दुबईले अहिलेसम्म पूर्ण विवरण सार्वजनिक गरेको छैन ।
फ्लाइटराडारलाई फ्लाई दुबईले दिएको जानकारी अनुसार दुबई विमानस्थलबाट तेल अभिभस्थित बेन गुरियन इन्टरनेसनल विमानस्थलका लागि उडेको एफजेड–१०७३ उडानमा बुधबार उडानकै क्रममा ‘घटना’ भएको पुष्टि गरेको जनाएको छ । कम्पनीले विमान सुरक्षित रूपमा साउदी अरबको ताबुक विमानस्थलमा अवतरण गरेको र विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको तथा उनीहरूको विवरणसमेत पुष्टि गरिएको जानकारी फ्लाई दुबईले फ्लाइटराडारलाई दिएको छ ।
‘हाम्रा यात्रु र चालक दलको सुरक्षा तथा कल्याण हाम्रो उच्च प्राथमिकता हो,’ फ्लाई दुबईको भनाइ उद्धृत गर्दै फ्लाइटराडारले जनाएको छ । कम्पनीको टोलीले सम्बन्धित अधिकारीसँग समन्वय गरी काम गरिरहेको र घटनाबारे थप पुष्टि भएका विवरण प्राप्त भएपछि जानकारी गराउने फ्लाई दुबईले जवाफ पठाएको छ ।
अर्कोतर्फ इजरायली यात्रुले विमान तीव्र रूपमा तल झर्दा विमानभित्र त्रास सिर्जना भएको बताएका छन् । केही यात्रुले ककपिटमा रगत देखिएको र एक पाइलटमाथि आक्रमण भएको दाबी गरेका छन् ।
केही यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिन चालक दललाई सहयोग गरेको बताइएको छ । यद्यपि, यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भने भइसकेका छैनन् ।
यसैबीच, हिब्रु सञ्चारमाध्यममा यात्रुको भनाइ उद्धृत गर्दै एक पाइलटले विमान दुर्घटनाग्रस्त गराउन खोजेको र अर्का पाइलटले यात्रुको सहयोगमा उनलाई रोक्न सफल भएको अपुष्ट दाबी पनि सार्वजनिक भएको छ ।
समाचार संस्था एन–१२ का अनुसार झगडाका क्रममा एक पाइलट बेहोस भएका थिए। विमान ताबुकमा अवतरण गरेपछि दुवै पाइलटलाई उडानबाट हटाइएको बताइएको छ। उक्त च्यानलले एक पाइलट रूसी मूलका र अर्का युक्रेनी मूलका भएको उल्लेख गरे पनि उनीहरूको राष्ट्रियताबारे स्पष्ट जानकारी प्राप्त भएको छैन ।
साउदीमा अलपत्र पारेका यात्रुलाई तेल अभिभ पुर्याउन फ्लाई दुबईले अर्को विमान ताबुक पठाउने तयारी गरेको छ । विमान कहिले ताबुक पुग्ने र यात्रुहरू कहिले तेल अभिभ पुग्ने भन्नेबारे भने यकीन छैन ।
