सर्लाही । बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणविरुद्ध राजस्थानको भरतपुरमा एफआईआर दर्ता गरिएको छ ।
दुवै कलाकारविरुद्ध गुणस्तरहीन सवारीसाधनको ब्रान्डिङ गरिरहेको आरोप लगाइएको छ ।
जाहेरीमा हुन्डाई कम्पनीका प्रबन्ध निर्देशक अन्सो किम, पूर्णकालीन निर्देशक तथा सीओओ तरुण गर्ग र सोरुम मालिकहरूको नाम पनि छ ।
राजस्थानका वकिलको निवेदनमा अदालतको आदेश
भरतपुर निवासी वकिल कीर्ति सिंहको निवेदनमा अदालतले एफआईआर दर्ता गर्न आदेश दिएको हो । मथुरा गेट प्रहरी चौकीमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कीर्ति सिंह भन्छन्, ‘मैले जुन २०२२ मा २३.९७ लाख रुपैयाँको मूल्यमा कार किनेको थिएँ । यो गाडीको लागि मैले एचडीबी फाइनान्सियल सर्भिसेजबाट ऋण लिएँ र बाँकी रकम नगदमा तिरेका थिएँ। कम्पनीले १४ जुन २०२२ मा कार डेलिभरी गरेको थियो ।’
‘ओभरटेक गर्दा कारले पिकअप लिँदैन’
वकिलको आरोप छ – ‘राजमार्गमा ओभरटेक गर्दा कारले पिकअप लिँदैन, केवल आरपीएम बढ्छ र ओडोमिटरमा खराबीको संकेत देखा पर्न थाल्छ। छ÷सात महिनापछि कारमा प्राविधिक त्रुटि अझ बढ्यो ।’। यो जाहेरी हुन्डाई अल्काजारसँग सम्बन्धित छ ।