सर्लाही, १६ भदाै । मधेश प्रदेशको खुला सीमानाकाका कारण भारततर्फबाट नक्कली नेपाली रुपैयाँको नोटसहितको कारोबार, तस्करी, भन्सारमा राजस्व संकलन र कार्यसम्पादनमा कमजोरी सार्वजनिक भएपछि सशस्त्र प्रहरीका एसपी, डीएसपीसहित १६ जना सशस्त्र प्रहरीको जिम्मेवारी खोसिएको जनाइएको छ ।

एक साता अघि नेपाल प्रहरीले पनि मधेश प्रदेशमा कार्यरत प्रहरी अधिकारीसहित जवानलाई सयौँको संख्यामा विभिन्न कारबाही गरेको थियो । त्यसको एक सातापछि सशस्त्र प्रहरीले समेत सशस्त्र प्रहरीका अधिकारीसहितकालाई कारबाही गरेको जनाएको छ ।

दशैँ आउन एक महिना बाँकी रहँदा सुरक्षानिकायमा भएको कारबाहीलाई लिएर विभिन्न सीमानाकामा हुने गरेको विभिन्न आपराधिक एवं राजश्व छलीलगायतका घटनाहरु उजागर भएको छ ।

लामो समयदेखि खुला सीमावर्ती क्षेत्रमा खुला सीमानाकाका कारण प्रहरीहरुमाथि पनि धनुषालगायतका विभिन्न नाकामा हातपातदेखि हवाईफायरसम्मका घटनाले प्रहरीको सुरक्षामाथि समेत प्रश्न चिन्ह खडा गरेपछि यो कारबाहीको क्रमलाई निकै अर्थपूर्ण रुपमा लिइएको देखिन्छ ।

भारतको बिहारमा लोकसभाको निर्वाचन नजिकिँदै जाँदा भएको नेपालबाट आतंककारी प्रवेशदेखि नक्कली नोटको कारोबारसमेत भारतको मुज्जफफ्रपुरतर्फबाट नेपालको सर्लाही, रौतहट, बारा, पर्सा हुँदै प्रवेश गर्ने गरेको खबर सार्वजनिक भएपछि सुरक्षानिकायले कारबाही थालेको तर्फ पनि संकेत गरिएको छ । यसले सुरक्षानिकायका अधिकारीहरुसमेत अवैध कारोबार गर्ने कनेक्सनमा रहेको आरोपसमेत लागेको छ ।

नक्कली नेपाली रुपैयाँको कारोबारीहरुले सक्रियता बढाइरहेको छ । १ हजार रुपैयाँ र ५ सय रुपैयाँ दरका नक्कली नेपाली रुपैयाँको सीमावर्ती भारतीय क्षेत्रमा उत्पादन र वितरणको कार्य भइरहेको खुलेको छ । नक्कली नोटको कारोबारमा संलग्न रहेकाहरुले नेपाली नम्बरको व्हाट्सएपमा मैसेज(सन्देश) पठाएर अनेक प्रलोभन दिने क्रम रोकिएको छैन ।

नक्कली नोटको उत्पादन र त्यसको पैकेजिंगसम्मको भिडियो पठाएर कारोबार गर्न प्रलोभन दिने गरिएको भिडियो सार्वजनिक भइसकेको छ । सो क्रममा भएको सशस्त्र प्रहरीका अधिकारीमाथिको कारबाही भएको बताइन्छ । यद्यपि सशस्त्र प्रहरीले भने सशस्त्रका इकाइहरूमा कमान्डरको रुपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक एसपी सहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको जनाइएको छ ।

सशस्त्र प्रहरीको प्रधान कार्यालयले आइतबार १ जना एसपी, १ जना डीएसपी, ७ जना इन्सपेक्टर, ६ जना सई र १ जना असई गरी १६ जनालाई कमाण्डको जिम्मेवारीबाट हटाएको सशस्त्रका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटका गणपती सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ ।

त्यस्तै बारा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको जनाइएको छ ।

त्यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव बानिया क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा बेस बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

त्यसैगरि पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बीओपी लल्लिपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको छ ।

सीमा इलाकामा कार्यरत कमाण्डरहरूलाई मुख्यालयबाट समेत सुक्ष्म रुपमा निगरानी बढाइएको जनाइएको छ । सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौँ अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन् । मुख्यालयले अन्य प्रदेशमा समेत सूक्ष्मरुपमा निगरानी बढाएको जनाएको छ । गण, गुल्म तथा बीओपी कमाण्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाएपछि सशस्त्र प्रहरीमा हड्कम्प मचेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *