सर्लाही, १७ भदाै । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो ।
संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितले नाम अद्यावधिक गर्ने क्रम जनप्रतिनिधिहरुबाट सुरु हुने बताए ।
उनले भने,‘सबभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्छौं । त्यसपछि संघ र प्रदेशका सांसद गराएपछि केन्द्रीय सदस्यहरुलाई सम्पर्कमा आउन आह्वान गर्छौ।’ निर्वाचन आयोगले महाधिवेशनबाट बनेको कमिटीलाई मान्यता नदिँदा अद्यावधिक हुन सकेको छैन । रेशम पक्षले अध्यक्षबाट रञ्जितालाई हटाउने निर्णयलाई मान्यता दिएको छैन । पण्डितका अनुसार अद्यावधिकको कार्य क्रमशः गरिने छ ।
पार्टी बैठक आव्हान गरेर नाम अद्यावधिक गराउन अध्यक्ष रञ्जिताले चासो नदिएको भन्दै रेशम पक्ष उनीसँग रुष्ट भएको थियो । निर्वाचन आयोगले अध्यक्षको मान्यता रञ्जितालाई दिएपछि उनले बैठक डाकेर विधान संशोधन गर्ने र अद्यावधिक गर्ने निर्णय गराएकी हुन्। विधान संशोधन पार्टीको केन्द्रीय समितिको दुई तिहाई मतले मात्रै सम्भव हुन्छ ।
विधान संशोधनका लागि दुई तिहाई संख्या पुग्ने पण्डितले दाबी गरे । उनले भने,‘दुई तिहाई आरामले पुग्छ । किनकी, अद्यावधिक गराउन नचाहने कोही हुनुहुन्न् ।’ रञ्जिताले बोलाएको बैठकमा १३ जना उपस्थित भएको र उपस्थित नभएकाहले पनि निर्णयमा समर्थन गर्ने जानकारी दिएको पण्डितले अनलाइनखबरसँग बताए ।
नाउपाको विधान अनुसार २०१ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । संस्थापक २१ जना केन्द्रीय सदस्य मध्ये हाल क्रियाशील १६ जना रहेका छन् । दुई दिन बसेको बैठकले एकैपटकमा २०१ जना केन्द्रीय सदस्य नबनाई क्रमशः थप्दै जाने निर्णय लिएको छ ।
केन्द्रीय सदस्य हुनका लागि दस्तुर बुझाएका तर कमिटीमा समावेश हुन नसकेकाहरुलाई प्रमाण सहित सम्पर्कका लागि आव्हान गरिने पण्डितले जानकारी गराए। ‘कतिले छोड्नुभएको होला, कतिलाई आउन मन नहोला। त्यो छानबिन गर्छौ र जिम्मेवारी बाँडफाँड गर्छौं । विभागको जिम्मेवारी दिन्छौं ।’
बैठकले रुपन्देही–३ को निर्वाचनमा नाउपाबाट उम्मेदवार चयन गर्ने अधिकार जिल्ला कमिटीलाई दिने निर्णय गरिएको छ । नाउपाका दुई पक्षको विवादले उपनिर्वाचनका लागि नाउपा दर्ता भएको छैन । दुवै पक्षले उम्मेदवार उठाउँदा ढकिया चुनाव चिन्ह पाउने छैनन् ।
स्वतन्त्र रुपमा उम्मेदवार उठाउन रेशमपक्षले तयारी गरेको छ। डा.सरोजसिंह चौधरी र डा. उमाशंकर चौधरीमध्ये एकलाई उम्मदेवार बनाउने तयारी रेशम पक्षको छ । यता, रञ्जिता पक्षले उम्मेदवार छान्ने जिम्मेवारी रुपन्देही कमिटीलाई दिएको छ । रेशम पक्षले अघि सारेकै उम्मेदवारलाई जिल्ला कमिटीले स्विकार नगर्ने पण्डितले दाबी गरे ।
बेठकले संगठन विभाग प्रमुखमा लक्ष्मण किशोर चौधरी र प्रवक्तामा दामोदर पण्डितलाई नियुक्त गरेको छ ।