काठमाण्डाैं, १७ भदाै । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबीचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएका छन् । यो भेटवार्ता चीनमा बुधबार हुने विशाल सैन्य परेडअघि सम्पन्न भएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनसहितका दर्जनौँ विश्व नेताहरू चीनको शक्ति प्रदर्शनमा सहभागी हुन राजधानी बेइजिङमा भेला भएका छन् ।
“हाम्रो घनिष्ठ संवादले रुसी–चिनियाँ सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट गर्छ, जुन अहिले अभूतपूर्व स्तरमा पुगेको छ”, पुटिनले पूल गरिएको लाइभ फिडमार्फत सीलाई भने ।
युद्धको समयमा दुवै मुलुकबीच भएको सहकार्यलाई स्वीकार गर्दै पुटिनले भने, “हामी सधैँ सँगै थियौँ र अहिले पनि सँगै छौँ ।”
सीले यस हप्ताको सुरुआतदेखि कूटनीतिक बैठकहरू आरम्भ गरेका छन्, जसमा उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनसमेत पर्छ । चीनले यस मञ्चलाई पश्चिमी प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गर्ने गरेको छ ।