सर्लाही, १८ भदाै । खानेपानी मन्त्री प्रदीप यादवले आफूमाथि आक्रोश पोख्ने एक युवतीलाई थुनाएपछि उनैविरुद्ध थप दबाब दिन प्रयोग गरिएका आफ्नै पार्टीका कार्यकर्तालाई ओसार्न सरकारी गाडीको दुरुपयोग गरेको आरोप लागेको छ ।
मन्त्री यादवका स्वकीय अधिकृतले प्रदर्शन स्थलमा देखिएको सवारी आफ्नो भएको स्वीकार्दै सरकारी गाडी त्यस ठाउँमा अर्को कार्यक्रमका लागि भएको बताएका छन् ।
वीरगन्जमा हैजाको प्रकोप र खराब पानी वितरणको विरुद्ध आक्रोशित एक युवती किरण साहले गत शुक्रबार मन्त्री यादवलाई फोन गरी गुनासो र आक्रोश व्यक्त गरेकी थिइन् ।
त्यसको प्रतिक्रियामा मन्त्री यादवले आफ्नै सचिवालयबाट उजुरी दर्ज गराएका हुन्, जसका आधारमा प्रहरीले किरणलाई हिरासतमा लिई रहेको छ। उनमाथि साइबर अपराध, सांसदलाई धम्की र अफवाह फैलाउनेजस्ता गम्भीर आरोप लगाइएको छ ।
जनप्रतिनिधिसँग नागरिकहरूले आफ्नो कुरा राख्दा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहँदा थुनामा परेकै बेलामा मंगलबार आफ्नै पार्टी जसपाका कार्यकर्ता, महिला नेताहरू र आफूले नियुक्त गरेका खानेपानी संस्थानका पदाधिकारीहरूलाई किरणविरुद्ध जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उतारेको विषयले थप माहोल तताएको छ ।
प्रदर्शनपछि केही प्रदर्शनकारीहरूलाई ओसारेको भनिएको तीनवटा सरकारी नम्बर प्लेटका गाडीहरू सो स्थानमा देखिएका थिए। यसमध्ये बा २ झ २०४१ नम्बरको सरकारी गाडी आफूले प्रयोग गर्दै आएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले बताएका छन् । “त्यो गाडी (बा २ झ २०४१) मैले नै प्रयोग गर्छु, प्रदर्शनमा गएको होइन । प्रदर्शन अलि पर थियो, त्यहाँ यौटा कार्यक्रम भएकोले त्यसका लागि गएको हो,” उनले भने ।
उनले अकमकाउँदै भने, “यो हाम्रो यता हाम्रो, यता उ थियो, अफिसियल्ली काम थियो, त्यहाँ गाडी रोकेर त्यहाँ थियो, प्रदर्शनमा गाडी गएको थिएन ।”
यस घटनाले गर्दा किरणको परिवारमा मात्र होइन, समुदाय तथा सिंगो नागरिक समाजमा गहिरो रिस देखिएको छ । पीडित नागरिकले आक्रोशमा बोलेका विषयलाई लिएर थुन्नु र मुद्दा चलाउनु शासकीय प्रवृत्तिको पराकाष्ठा नाघेको स्थानीयको भनाई छ ।
एक स्थानीय नागरिकले प्रश्न उठाउँदै भने, ‘पहिलो कुरा त लोकतन्त्रमा बोल्न पाइने हो कि होइन रु दोस्रो, पीडितलाई नै पीडा दिन आन्दोलन गराउने र त्यसका लागि सरकारी गाडी नै प्रयोग गर्नु कहाँसम्मको राज्यशक्तिको दुरुपयोग हो ?’
वीरगन्जमा हैजाको संकट र खानेपानीको समस्याबाट उत्पन्न एक नागरिकको आक्रोश अहिले मन्त्रीविरुद्ध सरकारी साधन दुरुपयोग, कार्यकर्ता प्रयोग र एक नागरिकविरुद्ध कानुनी कारबाहीको राजनीतिक विवादमा परिणत भएको छ ।