सर्लाही, २६ भदाै । सर्लाहीमा जेन-जी आन्दोलन अन्तर्गत भइरहेको अराजक गतिविधिका कारण जिल्लाका विभिन्न स्थानमा रहेका एक दर्जनभन्दा बढी प्रहरी चौकीहरू विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार मंगलबार यता सुरू भएको आन्दोलनले जिल्लाको सुरक्षा अवस्था अस्थिर बनेको छ ।
उनले बुधबारसम्म मलंगवा, कबिलासी, हरिपूर्वा, नारायणपुर, बहादुरपुर, संग्रामपुर, सोल्टी, राजघाट, हजरिया, कौडेना, मधुवनगोठजस्ता स्थानका साथै महेन्द्र राजमार्ग क्षेत्रका फुलजोर, परवानीपुर र घारिबथानमा रहेका अस्थायी तथा स्थायी प्रहरी चौकी विस्थापित भइसकेको जानकारी दिए ।
अराजक गतिविधिहरूका कारण सर्वसाधारणको सुरक्षामा असर परेको भन्दै स्थानिय बासिन्दाले सुरक्षाका लागि तत्काल प्रहरी चौकी पुनर्स्थापना गर्न माग गरेका छन् ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाली सेनाको कालिध्वज गण पाँचकुमारीका गणपति उमेश खड्का, सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द लगायत सुरक्षा अधिकारीहरूसँग स्थानीयले पुनर्स्थापनाको माग राखेका थिए ।
गणपति प्रमुुख सेनानी उमेश खड्काका अनुसार बुधबार बिहानदेखि नेपाली सेनाले सुरक्षाको जिम्मेवारी सम्हालेपछि सर्लाहीको सुरक्षा अवस्था तुलनात्मक रूपमा सुदृढ बनेको छ । “हाल स्थिति नियन्त्रणमा छ र सुरक्षाको लागि सेना पूर्ण रूपमा सक्रिय छ,” उनले बताए ।