सर्लाही, २६ भदाै । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ‘जेनजी’ पुस्ताको नेतृत्वमा भएको जनआन्दोलनलाई केवल नेतृत्व परिवर्तनमा सीमित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
उनले फेसबुकमार्फत एक पोस्ट गर्दै आन्दोलनको मूल उद्देश्य समग्र व्यवस्थामा परिवर्तन, भ्रष्टाचारको अन्त्य र देशको अवस्थामा सुधार ल्याउनु रहेको बताएका छन् ।
साहले अहिलेको दुरवस्थाको मुख्य कारण गलत प्रणाली, संरचना र नेतृत्व भएको जिकिर गरेका छन् । उनका अनुसार भ्रष्टाचार केन्द्रीय सरकारमा मात्र नभई प्रदेश र स्थानीय गरी ७६० वटै सरकारमा व्याप्त छ । उनले युवाहरूलाई ‘ललिपप’ दिएर झुक्याउने प्रयास भइरहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरेका छन् ।
अध्यक्ष साहले ‘जेनजी’ पुस्ताका युवाहरूलाई समस्याको गहिराइमा पुगेर समाधान खोज्न आग्रह गरेका छन् । उनको भनाइमा समस्याको समाधान केवल नेतृत्वमा मात्र नभई सम्पूर्ण व्यवस्थामा खोज्नुपर्छ, अन्यथा गरिएको ‘जनक्रान्ति’ को औचित्य पुष्टि गर्न गाह्रो हुनेछ ।
वर्तमान सङ्कटको निकासका लागि उनले लुटेरा र भगौडाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षीय अन्तरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोच्चतासहितको नयाँ संविधान आजको आवश्यकता रहेको बताएका छन् ।
