सर्लाही, ३० भदाै । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी घोषणा गरेका छन् । आइतबार (भदौ २९) सामाजिक सञ्जालमार्फत उनले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका हुन् ।
उनले भने, “नागरिक उन्मुक्ति पार्टीको साथीहरूले मलाई संरक्षक भनिदिनुभयो, नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मैले वर्षौं पालेको छु । म नागरिक पार्टीमा आजबाट हुन्नँ । मसँगै मेरो भावना, आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्ने अपेक्षा गरेको छु ।”
उनले अगाडि भने, “मलाई अब झगडा गर्नु छैन, कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले संस्थापक केन्द्रीय सदस्यको रोइलो । जानीनजानी दुईदुईपटक मेरो घर दहन भयो । २०७८ सालबाट २०८२ सालसम्म घरभाडा, बिजुली, पानी सबैको रकम तिरेर पार्टी चलाइरहेँ, त्यही पनि मैले जस पाइनँ ।”
उनले थरुहट आन्दोलनका नाममा ठग्ने कार्यकर्ता नचाहिने पनि बताएका छन् ।

