सर्लाही, ३० भदाै । जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि जनमत पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । प्रदेश सरकारलाई दिएको समर्थन र मुख्यमन्त्रीसहित मन्त्रीसमेतलाई फिर्ता बोलाएपछि नयाँ प्रदेश सरकारका लागि अन्योल उत्पन्न भएको छ । जेन– जी आन्दोलनकै क्रममा प्रदेश प्रमुख, मधेश प्रदेशका सभामुख र सत्ता गठबन्धनका नेताहरुसमेत जनकपुरधाममा नहुँदा प्रदेश सरकारको विषयलाई लिएर विभिन्न अड्कलवाजीसंगै राजनीतिक शून्यता देखिएको छ । जेन– जी आन्दोलनको क्रममा सामाजिक सञ्जालमा लेखेर मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनबारे चर्चा परिचर्चा हुन थालेको छ । भदौँ २४ मा सामाजिक सञ्जालमार्फत राजीनामा दिए पनि आन्दोलन सेलाएपछि मुख्यमत्त्री सिंहले घुमाउरो पारामा राजीनामा नदिएको दाबी गरेका थिए ।
उनको दोहोरो चरित्र देखिएपछि मुख्यमन्त्री सिंहको चर्को आलोचना भएसंगै जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखको कार्यालयलाई शनिबार अबेर साँझ एक पत्र इमेलमार्फत मुख्यमन्त्री सिंह र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि जनमत पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता यादवले शनिबार साँझ नै प्रदेश प्रमुखको कार्यालयका सचिवको समेत ह्वाट्सएपमा जनमत पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीसहित
मन्त्रीहरूलाई फिर्ता बोलाएको पत्राचार पठाएका थिए ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले शनिबार साँझ जनमतका संसदीयका नेता यादवले प्रदेश सरकारको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री
तथा मन्त्रीहरूलाई पनि फिर्ता बोलाइएको पत्र सचिवालयमा पठाएको जनाए । प्रदेश प्रमुख सोमबार काठमाण्डुबाट जनकपुरधाम आएपछि नयाँ सरकार गठनको विषयमा प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । जेन–जी आन्दोलनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
प्रदेश प्रमुखको कार्यालय लगायतमा आगजनी गरेपछि भौतिक संरचना तथा केही कागजातहरूसमेत जलेर नष्ट भएको उनले बताए । त्यस्तै मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पनि अहिले जनकपुरधाम बाहिर नै छन् । उनी पनि सोमबार काठमाण्डौं बाट जनकपुरधाम आउने सभामुखका सचिवालयले जनाएको छ । मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेपछि र जनमतले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि प्रदेश प्रमुखबाट अब नयाँ सरकार गठनका लागि आह्वान हुने सभामुख मण्डलले बताए ।
अहिलेको विषम परिस्थितिमा सबै दल मिलेर नै सर्वदलीय सरकार बनाउने विषयमा छलफलसमेत भइरहेको बुझिएको छ ।

उनले संविधानको धारा १६८ को उपराधा २ को १ बजोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश
प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त
गर्ने प्रावधान छ ।

मधेश प्रदेश सरकारको प्रशासनिक
भवनदेखि सम्पूर्ण कार्यालयका भौतिक
संरचनाहरू ध्वस्त रहेका अवस्थाले गर्दा
मुलुक राजनीतिक संक्रमणको अवस्थाबाट
गुज्रिरहेकाले सम्भवतः सर्वदलीय सरकार
गठन गर्नु आवश्यकता रहेको जनमत पार्टीका
संसदीय दलका नेता यादवले बताए ।
नेपाली कांग्रेस मधेश प्रदेका संसदीय
दलका प्रमुख सचेतक कुमरकान्त झाका
अनुसार अहिले कांग्रेस मधेश प्रदेशका
संसदीय दलका नेता कृष्णकुमार यादव,
सभामुख, प्रदेश प्रमुख पनि काठमाण्डुमै
रहेकाले प्रदेश सरकारको गठन प्रक्रिया
कसरी अघि बढ्छ भन्ने अन्योल नै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *