सर्लाही, ३१ भदाै । नेपालमा चलेको जेन–जी आन्दोलनले दुई दिनमै सत्ता पलट भयो । अहिले कांग्रेस–एमालेको संयुक्त सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यद्यपि सरकारले पूर्णता पाउन भने बाँकी छ । 

२३ गते जेन–जीको प्रदर्शनमा प्रहरीले गोली वर्षाएर १९ जनाको मृत्यु पुष्टि भएपछि २४ गतेको आन्दोलन थप उग्र भएको थियो । युवाहरूले संसद भवनदेखि सिंहदरबार र नेताका घरहरू निशानामा पारे । आगजनी र तोडफोडबाट खर्बाैंको क्षति भयो । भाैतिक संरचनामा आक्रमणमात्रै भएन, कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरुजु राणामाथि भाैतिक हमला भयो । श्रीमान्–श्रीमती रहेका उनीहरूलाई बूढानीलकण्ठस्थित निवासमै सांघातिक हमला भएको थियो । 

उनीहरूलाई घाइते अवस्थामा नेपाली सेनाले उद्धार गरी अस्पताल लगेको थियो । दुवै जना अहिले पनि अस्पतालमै रहेर स्वास्थ्यलाभ गरिरहेका छन् । 

देश जलिरहँदा प्रधानमन्त्रीनिवास बालुवाटारमै रहेका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सेनाले हवाई उद्धार गरेर आफ्नो ब्यारेकमा राखेको थियो । ओली अहिले सेनाको ब्यारेकबाट निस्किसकेका छन् ।

स्रोतका अनुसार उनी अहिले एक कार्यकर्ताको घरमा बसेका छन् । उनी भोलि च्यासलस्थित पार्टी कार्यालयको निरीक्षणमा जाने स्रोतले बताएको छ । ओलीको बालकोटस्थित निवासमा पनि आगजनी गरिएको छ ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने मंगलबारदेखि नियमित काम थालेका छन् । उनी आज बिहान आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भएका थिए । त्यहाँबाट उनले जलेको पार्टी कार्यालयलाई फेरि विशाल रूप दिइने बताए । प्रचण्डको खुमलटार र चितवनस्थित निवासमा पनि आगजनी भएको थियो । जेन–जी आन्दोलन साम्य भएसँगै नेताहरू सक्रिय हुने क्रम बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *