सर्लाही, ०२ असाेज । जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । 

पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । 

जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएको तथ्यांक छ ।

स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको छ भने डेङ्गुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको क्रिसमस अस्पताल मणिग्राममा मृत्यु भएको छ ।  

यस वर्ष रुपन्देहीमा सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छन् ।  संक्रमण र न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *