सर्लाही, ०३ असाेज । नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरनुभएको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ आज सेनाको सुरक्षाबाट बाहिरनुभएको जानकारी दिनुभयो । 

उहाँका अनुसार अध्यक्ष ओली भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुग्नुभएको छ । 

भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचना जलाएका थिए । 

निवर्तमान प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । 

उहाँ आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा सर्नुभएको हो । उहाँको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो । 

गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गर्नुभयो । 

एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *