सर्लाही, ०३ असाेज । भारतले चाडपर्वलाई लक्षित गर्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको छ ।
भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने अनुमति दिएको हो ।
भारत सरकारले ३० सेप्टेम्बर २०२६ सम्म चिनी निर्यातका लागि अनुमति दिएको हो । उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत आयात गरिने छ ।
चाडपर्वका बेला नेपालमा चिनीको हाहाकार हुँदै आएको छ। चाडपर्वमा चिनीको कमी हुन नदिन भारतले चिनी निर्यात गर्न अनुमति दिएको बताइएको छ ।
नेपालमा चिनी उत्पादन भए पनि त्यसले माग धान्न सकेको छैन । नेपालमा उत्पादन हुने चिनीभन्दा दोब्बर माग रहेको विज्ञहरू बताउँछन् । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन खपत हुँदा करिब डेढ लाख मेट्रिक टन उत्पादन मात्रै नेपालमा हुँदै आएको छ ।
नेपालमा माग धान्न सक्ने उत्पादन नहुँदा चाडपर्वका बेला चिनीको हाहाकार हुँदै आएको छ । भारत सरकारले दसैं-तिहार जस्ता चाडपर्वमा चिनीको कमी हुन नदिन उक्त निर्णय लिएको जानकारी दिएको छ ।