काठमाडौं, ०७ असाेज । । अफगानिस्तानका एक बालक विमानको चक्कामा नजिक लुकेर भारत पुगेको खुलेको छ ।

हालै ती बालक अफगानिस्तानको राजधानी काबुलबाट विमानको ल्याण्डिन गेयर (चक्का नजिक) मा लुकेर भारतको दिल्ली आइपुगेका हुन् ।

काबुलबाट उडान भरेको विमानको ल्याण्डिङ गेयरमा लुकेर उनी दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको समाचार अहिले चर्चामा छ । पत्ताउनै नसकिने र ठूलो जोखिमका बीच उनी दिल्लीमा आइपुगेको घटनाले आम मानिसलाई आश्चर्यमा पारेको हो ।

अफगानिस्तानको काम एयरलाइन्सको यात्रुवाहक विमानको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा लुकेर ती बालकले जोखिमपूर्ण यात्रा गरेका हुन् ।

उत्तरी अफगानिस्तानको कुन्दुज शहर निवासी ती बालक विमान अवतरण भएपछि दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भौतारिँदै गर्दा भारतीय अधिकारीहरूले फेला पारेका बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएर केही घण्टा सोधपुछ गरेका थिए । त्यसक्रमा ती बालकलाई आफूलाई उत्सुकता लागेर विमानको ल्याण्डिङ गेयरमा लुकेर यात्रा गरेको जवाफ दिएका थिए ।

उनको परिचय नखुलाइएपनि पछि सोही विमानमार्फत पुन: उनलाई काबुल नै फिर्ता पठाइएको समाचारमा उल्लेख छ ।

भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)का प्रवक्ताका अनुृसार अफगानिस्तानको काम एयरलाइन्सका आरक्यू–४४०१ उडानमार्फत अवैध र निकै जोखिमपूर्ण यात्रा गरेका थिए ।

उक्त विमान आइतबार बिहान करिब ११:१० बजे दिल्ली अवतरण भएको थियो ।

विमानस्थलमा उनी एक्लै घुमिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

उनले विमानको पछाडिको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरेको स्वीकारेका छन् । विमानको थप सुरक्षा जाँचका क्रममा एक सानो रातो रङको अडियो स्पिकर पनि भेटिएको थियो ।

भारतीय पत्रीका इन्डियन एक्सप्रेसका अनुसार, ती बालक खासमा इरान जान चाहेका थिए तर आफू चढेको विमान दिल्ली गइरहेको भन्ने कुरा थाहै पाएनन् ।

काबुल विमानस्थलमा उनी यात्रुहरूको समूह पछ्याउँदै भित्र पसेका थिए । त्यसैक्रमा मौका छोपेर विमानको पछाडिको पाङ्ग्रा राख्ने भाग (रियर ह्वील वेल) मा लुकेर बसेका थिए । उनको साथमा उक्त रातो अडियो स्पिकर मात्र थियो ।

विगतमा पनि यस्ता घटना बाहिरिने गरेका थिए । तर, धेरैजसोले यात्राक्रममा विमान उचाईमा पुग्दा बेहोस भएर खस्थे । उचाईमा अक्सिजनको कमी र चिसोका कारण जीवित रहने सम्भावना एकदमै कम हुने विज्ञहरू बताउँछन् ।

विशेषज्ञहरूका अनुसार, ल्यान्डिङ गियर झर्दा यस्ता यात्रुहरू अचेत अवस्थामा बाहिर खस्ने सम्भावना उच्च हुन्छ ।

सन् २०२२ मा पनि एक २२ वर्षीय केन्याली युवा नेदरल्यान्ड्सको एम्स्टाडममा एउटा कार्गो विमानको ह्वील वेलमा जीवितै भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *