सर्लाही, १० असाेज । खुला ढलमा कुहिएको फोहोर मिसिएको धमिलो पानी बगेको छ । प्लास्टिकका खोल र लेउ भरिएको दुर्गन्धित त्यही ढलमा डुबेको छ खानेपानीको पाइप । नालामा बगिरहेको दूषित पानी पाइपमा मिसिएर घरघरमा पुगिरहेको छ ।
यो पर्सा जिल्लाको यथार्थ हो, जसले एक महिनाभन्दा लामो समय हैजा महामारीको संकट बेहोरिरहेको छ ।
नालामुनि दबिएको खानेपानीको पाइपमा हैजाको घातक जीवाणु मिसिएको छ । जसले पर्सावासीको जीवनमा कहर मच्चाइरहेको छ ।
पिउने पानीमा मिसिएको दूषित ढलका कारण जिल्लाभर हैजाको प्रकोप रोकिएको छैन । एक महिनादेखि जारी समस्याका कारण अहिलेसम्म १ हजार ५८७ जना बिरामी अस्पताल पुगिसकेका छन् ।
अहिले ५ जना बिरामीको आईसीयू र दुईजनाको एचडीयूमा उपचार भइरहेको छ । त्यस्तै २८ जनाले जनरल वार्डमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
पछिल्लो २४ घन्टामा २० जना हैजा संक्रमित थपिएका छन् ।
पर्सामा ६ भदौमा पहिलो पटक झाडापखालाका बिरामी देखापरेका थिए । तर एक महिना बितिसक्दा हैजा संक्रमित घटेका छैनन् ।
एक महिनासम्म किन रोकिएन हैजा संक्रमण ?
नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार चार हप्तादेखि फैलिरहेको हैजालाई शून्यमा झार्न सकिएको छैन । ‘संक्रमण घट्नुपर्ने हो । तर घटेन । अहिले पनि हैजा संक्रमित अस्पतालमा भर्ना भइरहेका छन्,’ डा. दास भन्छन्, ‘यो गम्भीर चिन्ताको विषय हो ।’
उनका अनुसार दैनिक १५ देखि २० जनाको संख्यामा बिरामी अस्पताल आइरहेका छन् । पछिल्लो तथ्यांकअनुसार नारायणी अस्पतालमा हैजा संक्रमित १२ जना भर्ना भएर उपचाररत छन् । तर कुनै पनि बिरामीको अवस्था गम्भीर भने छैन ।
हैजाको प्रकोप एक महिनादेखि जारी रहँदा पनि पूर्ण रूपमा नियन्त्रणमा नआउनुले संकट निम्त्याइरहेको डा. दासले बताए ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, हैजाको प्रमुख स्रोत दूषित खानेपानी रहेको प्रष्ट देखिएको छ । ‘समस्याको जड नै खानेपानीको पाइपलाइनमा ढलको पानी मिसिनु हो,’ डा. सिंह भन्छन्, ‘निर्मूल पार्न सरकारसँगै आम नागरिकको पनि ध्यान जान सकेन ।’
वीरगञ्ज महानगरपालिका-१२ र १३ मा हैजा संक्रिमत देखिइरहेको उनले बताए ।