सर्लाही, १० साउन । सर्लाहीको गोडैता बजारमा पछिल्लो केही सातादेखि चोरी, डकैती र लुटपाटका घटना श्रृंखलाबद्ध रूपमा बढ्दै गएका छन्। सोमबार राति गोडैता नगरपालिका–८ मा सुरुङ खनेर चार वटा घरमा एकसाथ चोरी भएको घटना सर्वसाधारणका लागि झनै डरलाग्दो बनेको छ। लाखौं रुपैयाँ नगद, गरगहना र घरायसी सामानसमेत चोरिएको बताइएको छ।
सबैभन्दा चकित बनाउने कुरा के हो भने यी घटना गोडैतास्थित प्रहरी चौकीबाट केही दूरीमै घटिरहेका छन्। यसअघि पनि त्यही वडामा यस्तै शैलीमा चोरी भइसकेको थियो। केही दिनअघि त एक युवकलाई पेस्तोल देखाएर लुटिएको घटनाले गाउँमा थप भय सिर्जना गरेको छ।

तर यस्ता गम्भीर आपराधिक घटनाहरूको विषयमा प्रहरीको प्रतिक्रिया भने अत्यन्त निराशाजनक रहेको छ। प्रमुख अवधेश प्रसाद यादवले घटनाबारे सोध्दा “यस्ता घटना भएको छैन, बाँकी आफूले बोल्न नमिल्ने” भन्ने जवाफ दिएका छन्। स्थानीयहरू भने प्रहरीकै निष्क्रियता र लापरबाहीले सुरक्षा स्थिति भयावह बनेको बताउँछन्।
“प्रहरीले हाम्रो कुरा सुन्दैन, उल्टै हामीलाई धम्की दिन्छ,” एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए। उनीजस्ता धेरै स्थानीय प्रहरी चौकीमा उजुरी दिन समेत डराउने गरेका छन्। प्रहरी नायव निरीक्षक (सई) यादवको नेतृत्वमा गस्ती नहुनु, सुरक्षा रणनीतिको अभाव, र जनसमुदायसँग समन्वयको कमीले गर्दा गोडैताको सुरक्षा अवस्था दिनदिनै जटिल बन्दै गएको छ।
स्थानीय बासिन्दाहरूले यथाशीघ्र प्रहरी प्रशासनमा सुधार र अपराध नियन्त्रणका लागि ठोस कदम चाल्न माग गरेका छन्। अन्यथा, दिनदहाडै हुने यस्ता घटना नियन्त्रणभन्दा बाहिर जानसक्ने उनीहरूको चेतावनी छ।