सर्लाही, २१ कार्त्तिक । जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। उनले पक्राउ परेकाहरू जेनजी आन्दोलनका अभियानकर्ता नभएको बताए ।

रुपक नेपालीले वरपिपल रिसोर्टमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक)को लगानी रहेको भन्दै भीडको नेतृत्व गरेर तोडफोड र आगजनी गराउन पुगेका प्रमाणहरू संकलन भएको प्रहरीको भनाइ छ। उनले पोखरा रंगशालामा प्रशिक्षणसमेत दिने गरेको खुलेको छ ।

रिसोर्ट लमजुङका जितु नाम गरेको व्यक्तिको भएको प्रहरीले जनाएको छ। पक्राउ परेका खड्कबहादुर पोखरा–१८ मै होटल व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । उनले केबीटी ट्राभलका नाममा सामाजिक सञ्चालनमा विभिन्न ठाउँका फोटो, भिडियो पोस्टसमेत गर्दै आइरहेका छन् ।

यसअघि रिसोर्टमै काम गर्नेहरूसमेत आन्दोलनका दिन रिसोर्टमा पुगेर तोडफोड, आगजनी गरेको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *