सर्लाही, १४ मंसिर । फागुन २१ मा हुने तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि मधेस केन्द्रित दलहरूमा सहमति जुट्न सकेको छैन ।
सात वटा मधेस केन्द्रित दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाका घटकहरू एकसाथ चुनाव लड्न सहमत भए पनि विधिमा एकमत हुन नसकेका हुन् ।
दलहरूको बिचमा एकता, एउटै चुनाव चिह्न र सिट बाँडफाँड गरी मोर्चाको बैठकमा तीन वटा विकल्प प्रस्तुत गरिएको थियो । यी तीन विकल्पमध्ये कुनै पनि विकल्पमा दलहरूको बिचमा सहमति जुट्न सकेन ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टी यी तीन वटै विकल्पमा सहमत हुन सकेको छैन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल केही सिटमा मात्र चुनाव तालमेल गर्न सक्ने पक्षमा छ भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल हरेक सिटमा तालमेल गर्ने पक्षमा छ ।
यता राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल एउटै चुनाव चिह्नबाट चुनावमा जाने पक्षमा छ । अन्य घटक दल नागरिक उन्मुक्ति पार्टी नेपाल एउटै चुनाव चिह्नको पक्षमा तथा जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी दलहरू बिच एकताको पक्षमा रहेको बताइएको छ ।
जसपा नेपालका महासचिव रामकुमार शर्माले मोर्चामा सबै विकल्प खुला राखिएको बताए । ती विकल्पमध्ये जसलाई जुन विकल्प ठिक लाग्छ, सोही आधारमा तालमेल गरेर चुनावमा सहभागी हुने सहमति भएको उनको भनाइ छ ।
कुनै दलहरूबिच पार्टी एकताका लागि सहमति भएमा एकता गरेरै जान सकिने, सिट बाँडफाँटमा सहमति भएमा त्यो पनि गर्न सकिने र एउटै चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएमा त्यसमा पनि जान सकिने गरी सहमति भएको उनले बताए ।

सोही आधारमा राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (अशोक राई नेतृत्वको) बिच एउटै चुनाव चिह्नमा चुनावमा सहभागी हुने सहमति भएको छ । उनीहरूले जाँतो चुनाव चिह्नका लागि निर्वाचन आयोगमा संयुक्त रूपमा निवेदन दर्ता पनि गराइसकेका छन् । अगामी चुनावमा यी तीन दल जाँतो चुनाव चिह्न लिएर सहभागी हुने तरखरमा छन् । जाँतो चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टी नेपालको हो ।
तीन वटै विकल्पमा दलहरू एक आपसमा मिल्नु पनि सकारात्मक रहेको लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले बताए । उनले भने, ‘मोर्चाभित्र एउटै विधिमा सहकार्यका लागि सहमति नबने पनि अन्ततः चुनावमा सबै दलहरूको बिचमा सहकार्य हुन्छ ।’
दलहरूले अहिले जे–जे गरिरहेका छन्, ती सबै मोर्चाकै हितमा रहेको बताउँदै उनले तीन दलले एउटै चुनाव चिह्नमा लड्ने सहमति गर्नु पनि सकारात्मक रहेको प्रस्ट पारे । ‘भोलि गएर केही दलहरूको बिचमा एकता गर्ने कुरा भइरहेको छ, एकता भयो भने अर्को शक्ति बन्छ । त्यसपछि चुनावमा यी दुई शक्तिको बिचमा तालमेल गर्ने भनेर सहमति हुनसक्छ,’ उनले भने ।
लोसपा, जसपा नेपाल, तमलोपा, जनता प्रगतिशील पार्टीको बिचमा एकताका लागि कुराकानी चलिरहेको छ । यसका लागि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले कुराकानी गरिरहेको र प्रयास सकारात्मकतर्फ गइरहेको लोसपा नेपालका महासचिव झाले बताए । ‘यी चार दलको बिचमा चुनावअघि नै एकता घोषणा भयो भने राजेन्द्र महतो, अशोक राईको चुनाव चिह्नसँग तालमेल गर्न सकिन्छ,’ उनले भने, ‘अहिले चुनावका लागि समय बाँकी छ ।’ दलहरूको बिचमा सहमति हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
मोर्चामा रहेको जनमत पार्टी कुनै पनि दलसँग चुनावी तालमेल वा एकता नगर्ने निष्कर्षमा पुगेको छ । मोर्चाको बैठकमा पनि जनमत पार्टीका उपाध्यक्ष डा.जयकान्त राउतले आफूहरू कुनै पनि एकता, चुनावी तालमेलको पक्षमा नरहेको जबाफ दिइसकेका छन् । सो पार्टीका अर्का उपाध्यक्ष ई.वसन्त कुशवाहाले अगामी चुनावमा आफ्नो दल एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताए ।
