सर्लाही, १५ साउन । सर्लाहीको बसबरिया गाउँपालिकामा नयाँ उर्जा र समर्पणका साथ प्रमुख प्रशासकीय अधिकृतको पदमा वृजनन्दन प्रसाद साह हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भई आज बुधबार साहले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
नवनियुक्त अधिकृत साहलाई गाउँपालिका अध्यक्ष रामसिंहासन राय लगायत स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूले सम्मानपूर्वक स्वागत गरे । कार्यक्रममा साहले आफूले निर्वाचित जनप्रतिनिधिहरूलाई संविधान र कानुनले दिएको अधिकार तथा दायित्वहरूको पूर्ण सम्मान गर्दै, गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहमा पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकालाई शसक्त प्रशासनिक नेतृत्व प्रदान गरी विकासका सबै योजनाहरूलाई गति दिने र जनताको अपेक्षा अनुसार पारदर्शी तथा जिम्मेवार प्रशासन सञ्चालन गर्ने वाचा पनि गरे । बसबरिया गाउँपालिकाका कर्मचारीहरूबीच उत्साह र नयाँ आशाका साथ स्वागत गरिएको यो नियुक्तिले स्थानीय शासन व्यवस्थामा नयाँ जोश र विश्वासको सन्देश दिएको छ ।