सदाम हुसैन-
सर्लाही, ०६ साउन । सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहित विभिन्न गाउँ तथा नगर क्षेत्रमा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ । जमिनमुनिको पानीको सतह घट्दै गएपछि अधिकांश चपाकल (ह्याण्डपम्प) सुक्न थालेका छन्, जसका कारण सर्वसाधारण नागरिक विशेषगरी गरिब तथा विपन्न वर्ग दैनिक उपभोगको पानी जोहो गर्न हैरान परेका छन् ।

नेपाल खानेपानी संस्थान मलंगवा कार्यालयका सूचना अधिकृत वीरेन्द्र कुमार सिंहका अनुसार, हाल जिल्लामा धारा जडानको माग अत्यधिक बढिरहेको छ । गत असार महिनामा मात्र १२५ भन्दा बढी घरधुरीमा नयाँ धारा जडान गरिएको उनले जानकारी दिए ।

“अहिलेको अत्यधिक गर्मीले जमिनमुनिको पानीको सतह घटेको छ। चपाकलहरू सुक्न थालेपछि अधिकांश मानिसहरू वैकल्पिक स्रोतको खोजीमा छन्,” सिंहले भने, “धारा जडानका लागि सेवाग्राहीको भीड बढिरहेको छ ।” तर, विपन्न वर्गका धेरै नागरिकहरूको भने धारा जडान गर्न आर्थिक अवस्था नपुगेको गुनासो छ। चपाकल सुक्दै गएकाले उनीहरू पानीको एक–एक थोपा जुटाउन संघर्ष गरिरहेका छन्। कतिपयले सार्वजनिक धारा र ट्यांकरको भरमा जीवन यापन गरिरहेका छन्।स्थानीयवासीहरूका अनुसार खानेपानी संकटले स्वास्थ्य र सरसफाइमा समेत प्रतिकूल असर पार्न थालेको छ। उनीहरूले सम्बन्धित निकायहरूबाट आवश्यक सहयोग र दीर्घकालीन समाधानको अपेक्षा गरेका छन्।

“हामीले धेरैपटक ध्यानाकर्षण गराएका छौं तर सरकारी तहबाट ठोस पहल भएको देखिँदैन,” मलंगवाका एक स्थानीय बासिन्दाले भने, “खानेपानी त हाम्रो जीवनसँग जोडिएको विषय हो। यति गम्भीर समस्यामा पनि बेवास्ता हुनु दुःखद हो।”

स्थायी समाधानका लागि आग्रह

विशेषज्ञहरू भन्छन्, यो संकट केवल अस्थायी समाधानबाट टर्ने अवस्था छैन। दीर्घकालीन रूपमा भूगर्भ जल व्यवस्थापन, वर्षा पानी सङ्कलन प्रणाली, सामुदायिक जलस्रोत संरक्षण तथा सौर्य चालित पम्प प्रणालीजस्ता उपायहरूमा लाग्न जरुरी भएको उनीहरूको भनाइ छ।

यदि समयमै आवश्यक नीति, योजना र बजेट विनियोजन गरिएन भने सर्लाहीजस्ता तराईका अन्य जिल्लाहरूमा पनि खानेपानीको संकट अझ भयावह बन्ने चेतावनी जलस्रोतविद्हरूले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *