सर्लाही, ०७ साउन । सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन्।
अस्पताल स्रोतका अनुसार अस्ती सोमबार राति हड्डी भाँचिएर उपचारका लागि अस्पतालमा आएका मलंगवाकै एक बिरामीलाई अन्यत्र रेफर गर्ने क्रममा ती बिरामीका आफन्तले अस्पतालका अर्थोपेडिक डा. कृष्णजंग साहमाथि हातपात गरेका थिए।
उक्त घटनाको विरोधमा मंगलबारदेखि अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जिव सिंहले दोषीलाई तत्काल कानूनी कारवाहीको माग गर्दै ओपिडी, सर्जिकल, ल्याब, एक्सरे लगायतका सेवा बन्द गरिएको जानकारी दिए।
“हामी चिकित्सकको सुरक्षा र मर्यादाका लागि आवाज उठाइरहेका छौं। अपराधीलाई कानूनी कारबाही नभएसम्म सेवा सञ्चालन गर्न सक्दैनौं,” उनले भने।
नेपाल चिकित्सक संघले समेत घटनाको कडा भर्त्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। संघले दोषीलाई तुरुन्त पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसमक्ष माग गरेको छ।
दुई दिनदेखि ओपिडी सेवा ठप्प हुँदा उपचारका लागि अस्पताल आएका सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। टाढाटाढाबाट आएका बिरामीहरू बिना उपचार फर्किन बाध्य भएका छन्।
घटनाले चिकित्सकहरूको सुरक्षाको विषय फेरि एकपटक उठान गरेको छ भने यसले स्वास्थ्य संस्थामा हुने हिंसाप्रति सरकारको दृष्टिकोणप्रति पनि प्रश्न उठाएको छ।