सर्लाही, ०७ साउन । सर्लाहीको रामनगर गाउँपालिकाले वर्षामा आएको कमीका कारण खेतमा सुक्न थालेको धान जोगाउन एक महत्वपूर्ण कदम चालेको छ। पालिकाले पानीको अभावमा रोपाइँमा समस्या भोगिरहेका कृषकहरूलाई राहत दिने उद्देश्यले एकादशी बाँध निर्माण गरेको हो ।

रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवको नेतृत्वमा निर्माण गरिएको यो बाँधबाट अब छटौल, बैरिया, बहुअर्वा, खैर्वा र इनर्वा क्षेत्रका खेतमा सहजै सिँचाइ पुग्न थालेको छ। रोपाइँ गरिए पनि पर्याप्त पानी नपाउँदा सुक्न थालेको धानमा अब हरियाली फर्कन थालेको छ ।

“कृषकहरूको पीडालाई बुझेर हामीले तुरुन्तै कदम चालेका हौँ। कृषिमा संकट आउँदा चुप लागेर बस्नु हुँदैन भन्ने सोचले यो कार्य सम्पन्न गराएका हौँ,” अध्यक्ष यादवले बताए। उनले आगामी दिनहरूमा पनि कृषिलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आवश्यक कार्यक्रम र पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय कृषकहरूका अनुसार, वर्षामा आएको कमी र नदीमा पानी नआउँदा रोपाइँका लागि आवश्यक सिँचाइ ठप्पजस्तै भएको थियो। तर अहिले बाँध बनेपछि नदीको पानी खेतसम्म पुगी सिँचाइ सहज भएको छ। धेरै किसानहरू सुक्न थालेको धानमा पुनः हरियाली देखिँदा खुसी व्यक्त गरिरहेका छन् ।

“पहिला त रोपाइँ त गर्‍यौँ, तर पानी नपुगेर धान सुक्न थाल्यो। अहिले बाँध बनेपछि खेतमा पानी पुगेको छ, अब केही राहत मिलेको छ,” छटौलका एक किसानले भने । गाउँपालिकाको यो पहलले कृषिमा निर्भर स्थानीय जनतालाई ठूलो राहत दिएको छ। यस्तो संकटमा तत्काल र प्रभावकारी कदम चालेकोमा गाउँपालिकाको सर्वत्र प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *