सर्लाही, १० साउन । रौतहटको चन्द्रपुर–१ स्थित वाग्मती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का बेपत्ता छन्। बोल बमका लागि जल लिन गएका युवकमध्ये एकको डुबेर मृत्यु भएको हो भने अर्का युवक बेपत्ता भएका छन् । नुनथरस्थित वाग्मती नदीमा जल लिने क्रममा डुबेर बेपत्ता भएका भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठियाका शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साहको शव शनिबार फेला परेको हो । शुक्रबार साँझ पवनकुमार साह र २२ वर्षीय नितेशकुमार जल लिन नदीमा गएका बेला डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी रूपा लाबुङ र प्रहरी निरीक्षक सोनुकुमार रामको टोली खोजतलासका लागि घटनास्थल पुगेको थियो ।

दुवै भारतीय युवक बेपत्ता भएको जानकारी परिवारले इलाका प्रहरीलाई दिएपछि खोजी कार्य सुरु गरिएको थियो । इलाका प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिए । उनले भने, ‘पवनको परिवारले शवको पहिचान गरेको छ। अर्का बेपत्ता युवकको खोजी भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पवनको शव परिवारलाई जिम्मा दिइनेछ।’

वाग्मती नदीमा प्रत्येक वर्ष पौडी खेल्ने र बोलबम जाने क्रममा मानिसहरू बेपत्ता हुने गरेको पाइएको छ। प्रहरीले उक्त क्षेत्रमा पौडी खेल्न निषेध गरे पनि घुम्न गएका पर्यटकहरू जबरजस्ती नदीमा जाने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *