सर्लाही, १५ साउन । रौतहटमा प्रहरीले अवैध रूपमा तस्करी गरिँदै गरेको काँचो सालको काठसहित एक भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ । जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका अनुसार, कटहरिया नगरपालिका–१ को भसेडवा गाउँबाट स्कार्पियो गाडीमा लोड गरिएको काँचो सालको गोलिया काठ बरामद गरिएको हो । गोप्य सूचनाको आधारमा जङ्गलसहिया सव-डिभिजन वन कार्यालय र जिल्ला वन कार्यालयको संयुक्त टोलीले खटिएको थियो । उक्त टोलीले भारतको नम्बर प्लेट एमएच ०४ डीबी ६३५३ भएको स्कार्पियो गाडीलाई रोक्ने प्रयास गर्दा चालक गाडी छाडेर फरार भएको बताइएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहका अनुसार, गाडीभित्र लोड गरिएको ४ थान काँचो सालको गोलिया करिब ४५ क्युफिट रहेको छ, जसको अनुमानित बजार मूल्य दुई लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।
फरार चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको डिएफओ साहले जानकारी दिए । यसैबीच, डिभिजन वन कार्यालय रौतहटअन्तर्गत गैंडाटार सव-डिभिजनको अर्को टोलीले पनि सालको चिरान काठ बरामद गरेको छ ।
गैंडाटार गाउँको कालापानी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रअन्तर्गतको घाटगद्दि गरिएको स्थान नजिकै तस्करीका लागि तयारी अवस्थामा राखिएको काठ दुईवटा साइकलमा लोड गरिएको अवस्थामा फेला परेको हो ।