सर्लाही, १५ साउन । आर्थिक वर्ष २०८१/०८२ को एक वर्षे अवधिमा कोसी प्रदेशमा ४ सय १८ जनाको ज्यान जाने गरी सडक दुर्घटना भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा ७ सय ११ जना गम्भीर घाइते र ८ हजार ५३० जना सामान्य घाइते भएका छन् ।
कार्यालयले सडक दुर्घटनाको प्रमुख कारण चालकको लापरबाहीलाई ठहर गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । हालसम्मको विश्लेषण हेर्दा दुर्घटनाको मूल जड ट्राफिक नियम उल्लघंन र लापरबाहीपूर्ण सवारी सञ्चालन रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा कोसी का १४ जिल्लामा ३ हजार ५ सय ६३ वटा सडक दुर्घटना हुँदा ३९७ जनाको मृत्यु भएको थियो । ६ हजार ७६ जना घाइते भएका थिए। बितेका दुई आर्थिक वर्षको तुलना गर्दा पछिल्लो वर्ष कोसीमा दुर्घटना सङ्ख्या २ हजार ६३ वटा अर्थात् ५८ प्रतिशतले बढेको छ। मृत्युदर ५ प्रतिशतले बढ्दा घाइतेहरूको सङ्ख्या ३ हजार १ सय ६५ ले बढेको छ। जुन ५२ प्रतिशतले बढी हो ।
जिल्लागत रूपमा दुर्घटनाबाट ज्यान गुमाउने सबैभन्दा धेरै मोरङमा छन्। भर्खरै बितेको आर्थिक वर्षभित्र मोरङमा मात्रै १२५ जनाको मृत्यु भएको छ । झापामा ९५ जनाले ज्यान गुमाउँदा सुनसरीमा ९१, उदयपुरमा ३६, धनकुटामा १३, सङ्खुवासभामा १२, इलाममा ११ र भोजपुरमा १० जनाले दुर्घटनामा परेर मृत्युवरण गर्नुपरेको छ। त्यस्तै खोटाङमा ६ जना, पाँचथरमा ५, ताप्लेजुङ, ओखलढुङ्गा र सोलुखुम्बुमा ४–४ जना र तेह्रथुममा २ जनाले ज्यान गुमाएका छन् । ट्राफिक नियम उल्लघंन गर्ने २ लाख १३ हजार ६९५ सवारी साधनमाथि कारबाही गरिएको छ। त्यसबाट राज्यले १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको तथ्ययांकमा उल्लेख छ ।
ट्राफिक प्रहरी इटहरी मातहत १४ जिल्ला ट्राफिक कार्यालय र ९६ इकाईहरूले दैनिक अनुगमन र नियन्त्रण कार्य गर्दै आएको जनाएको छ। एक वर्षभित्र २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोमा जसमा ६ लाख १६ हजारभन्दा बढी सवारी चालक, विद्यार्थी र सडक प्रयोगकर्ता लाभान्वीय भएको दाबी गरिएको छ ।
कोसी प्रदेशका मुख्य तथा सहायक मार्गहरूमा ९३२ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। झापाको झिलझिले, विराटनगरको दुधफार्म र खारजीमा ‘नम्बर प्लेट डिटेक्टर’ एएनपीआर प्रविधियुक्त क्यामेरा जडान गरिएको छ ।
लामो दूरीका सवारी र भारतीय सवारीहरूको निगरानीका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेसन एप सहितको चेकपोस्ट स्थापना गरिएको छ। गति नियन्त्रणका लागि २१ स्थानमा ‘टाइम कार्ड इन्ट्री’ प्रणाली कोसी प्रदेशमा लागू गरिएको छ ।
मादक पदार्थ तथा लागूपदार्थ सेवनबाट हुने दुर्घटना न्यूनीकरणका लागि नियमित ब्रेथलाइजर र लागूपदार्थ परीक्षण जाँच गरिएको बताइएको छ। साथै, तीव्र गति नियन्त्रणका लागि राडरगनको प्रयोगसहित दैनिक २३९ स्थानमा ट्राफिक चेकजाँच भइरहेको श्रेष्ठले जानकारी दिए ।