काठमाडौं, १६ साउन । । पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ ।
उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ । सन् २०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो । जसको विरोधमा देशभरि हिंसात्मक प्रदर्शन भएका थिए ।
बिहीबार आएको यो फैसलाले इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) लाई ठूलो झट्को लागेको मानिएको छ । सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभाको विपक्षी नेता उमर अयुब खान पनि रहेका छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको थियो ।
विपक्षी दलका नेताहरूले भने आतंकवाद विरोधी अदालतको निर्णयको निन्दा गरेका छन् । यो फैसलामार्फत पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषणा गरिएको छ ।