सर्लाही, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा परिणाम यही साता सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार तीनदेखि चार दिनभित्र नतिजा प्रकाशन गरिनेछ ।
हामी सम्भव भएसम्म छिटो नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौँ, अध्यक्ष शर्माले बताए। गत वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरिबाट ५ लाख ११ हजार ५२५ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्ष बोर्डले वैशाख ११ गतेबाट परीक्षा सञ्चालन गर्ने योजना बनाएको भए पनि शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछि सरेको थियो ।
कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिने भएकाले यस नतिजाले विद्यार्थीको उच्च शिक्षा र भविष्यको दिशानिर्देश तय गर्नेछ ।