सर्लाही, १९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन् ।
‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज मैले मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख कार्यालयमा जानेछु,’ उनले भने ।
बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए। त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो ।