तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा बिहीबार यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपालले दिगो र द्रूत आर्थिक वृद्धिका लागि दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट पारे ।

‘हामी सहज र निर्वाध पारबहन र व्यापार सुनिश्चित गर्न सीमापार सम्पर्कलाई सक्रिय रूपमा विस्तार एवं सुदृढ गर्दैछौँ’, प्रधाननन्त्री ओलीले भने, ‘आवाजा कार्ययोजनामा पारित दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन नीति, भूपरिवेष्टित मुलुकको विकास, लचिलोपनजस्ता कार्यक्रम हाम्रा आशाका स्तम्भ हुन् । यी प्रावधानसहितको कार्यढाँचालाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्वव्यापी जोड्ने हाम्रो सामूहिक दृढ सङ्कल्पलाई नवीकरण गर्न म आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *