सर्लाही, २३ साउन । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।

बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो ।

‘थप ३ जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’ उता, जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् ।

‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

बाढीमा बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले बुबासहित सात जनाको बेपत्ता भएको जानकारी आफूलाई टेलिफोन मार्फत् दिएको अध्यक्ष बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *