धेरै मानिस आफ्नो बढ्दो पेट कम गर्न जिमको सहारा लिन्छन्। तर केही मानिस यसमा धेरै ध्यान दिँदैनन् । यो अतिरिक्त बोसोलाई सामान्यतया बेली फ्याट, पेटको बोसो वा बियर बेली पनि भनिन्छ । आफ्नो छवि र फिटनेसबारे सचेत युवाहरू यसबारे चिन्तित हुन्छन् । पेट वरिपरि बोसो बढेको कारणले गर्दा मानिसहरू प्रायः आफ्नो रोजाइको लुगा आरामसँग लगाउन असमर्थ हुन्छन् । यद्यपि यसको प्रभाव केवल रोजेको लुगा लगाउनुमा मात्र सीमित छैन । पेटको बोसो स्वास्थ्यका लागि धेरै तरिकाले हानिकारक साबित हुन सक्छ ।
यसले टाइप २ मधुमेह र मुटु रोगको जोखिम पनि बढाउँछ ।
हार्वर्ड विश्वविद्यालयमा प्रकाशित अनुसन्धानले पेटको बोसोले साइटोकाइन नामक एक प्रकारको प्रोटिनको उत्पादन बढाउनले देखाएको छ। यसले शरीरमा सुजन निम्त्याउन सक्छ भन्ने देखाएको छ ।
यो पेटको बोसोले एन्जियोटेन्सिन भनिने अर्को प्रोटिनको उत्पादन बढाउँछ । यसले गर्दा रक्तनलीहरू संकुचित हुन्छन् र रक्तचाप बढ्छ ।
यसले डिमेन्सिया, दम र केही क्यान्सरको जोखिम पनि बढाउँछ ।
दिल्लीको फोर्टिस एस्कर्ट्स अस्पतालका वरिष्ठ हृदयरोग विशेषज्ञ डा. शिवकुमार चौधरीले पेट वरिपरि जम्मा भएको बोसो शरीरको अन्य भागमा जम्मा भएको बोसो भन्दा धेरै खतरनाक हुने बताए ।
डा. चौधरी बताउँछन्, ‘जब पेटको बोसोका कोषहरू टुट्छन् वा नष्ट हुन्छन् । यीनीहरूबाट धेरै प्रकारका विषाक्त तत्त्व निस्कन्छन् । यी तत्त्वले मुटुको धमनीमा सुजन बढाउँछन् । यसले मुटु रोगको जोखिम बढाउँछ । यसले शरीरमा इन्सुलिन प्रतिरोध पनि बढाउँछ । जसका कारण मधुमेहको जोखिम पनि बढ्न सक्छ ।’
विज्ञहरूका अनुसार पेटको बोसो बढ्नुको पछाडि धेरै कारण छन्। जस्तै आनुवंशिक प्रवृत्ति, हार्मोनल परिवर्तन, उमेर, अधिक तौल र रजोनिवृत्ति ।
यसबाहेक, असंतुलित जीवनशैली, अनियमित दिनचर्या र असंतुलित आहार पनि यसको कारण हुन सक्छ ।
सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानी अपनाएर समयमै पेटको बोसो नियन्त्रण गर्न सकिने स्वास्थ्य विज्ञहरूको सल्लाह छ ।
पेटको बोसो घटाउन केही कुराहरूमा ध्यान दिनु आवश्यक छ ।
१. बेलुकाको खाना र सुत्ने समयको भिन्नता
सुत्नुभन्दा करिब दुईदेखि तीन घण्टा अगाडि केही नखानुहोस्। दिनभरि खाएको खानाले दैनिक गतिविधिका लागि क्यालोरीहरू प्रयोग गर्दछ र ऊर्जाका लागि प्रयोग गर्दछ ।
तर खाना खाएपछि यी क्यालोरीहरू प्रयोग हुँदैनन् ।
त्यसपछि यो बोसोको रूपमा जम्मा हुन्छ र तौल बढ्न थाल्छ ।
२. सन्तुलित आहार खानुहोस्
विज्ञहरूले खानामा बढी फाइबर लिइयो भने लामो समयसम्म भोक नलाग्ने बताए ।
खानामा फाइबर छ भने खानासँगै पेटमा रहन्छ। यसले पेटबाट आन्द्रामा खाना सर्ने गतिलाई सुस्त बनाउँछ ।
यसको अर्थ लामो समयसम्म पेट भरिएको महसुस हुन्छ ।
खानामा प्रोटिनको प्रयोग गर्नुहोस्। प्रोटिनले पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ। यसले गर्दा बारम्बार केही खाने इच्छा कम हुन्छ ।
यसका अतिरिक्त यसले भोक बढाउने हर्मोन अर्थात् घ्रेलिनको स्तर घटाउँछ र खानाको तृष्णालाई नियन्त्रण गर्छ ।
प्रोटिनले शरीरको मांसपेशीलाई बलियो बनाउँछ र मेटाबोलिज्मलाई पनि गति दिन्छ। यसले गर्दा क्यालोरी जलाउने क्षमता बढ्छ ।
आफ्नो दैनिक आहारमा अण्डा, दाल, दूध, चीज, दही, माछा, कुखुरा र सोया जस्ता प्रोटिनयुक्त खानेकुरा प्रयोग गर्नुहोस् ।
३. अल्ट्रा–प्रशोधित खाना र परिष्कृत कार्बोहाइड्रेटबाट टाढा रहनुहोस्
सेतो ब्रेड, चिप्स र क्र्याकर जस्ता चीजमा करिब कुनै फाइबर हुँदैन। यसले गर्दा यी चाँडै पच्छन् र अचानक रगतमा चिनीको स्तर बढाउन सक्छन् ।
रगतमा चिनीको तीव्र उतारचढावले भोक बढाउने मात्र नभइ तौल बढ्ने र टाइप–२ मधुमेह जस्ता रोगको जोखिम पनि बढाउँछ ।
त्यसकारण यी खानेकुरालाई होल ग्रेन ब्रेड, रोस्टेड स्न्याक्स, फलफूल र बदाम जस्ता स्वस्थकर खानेकुराले बदल्नु राम्रो हुन्छ ।
चिनी र क्यालोरी बढी भएका खानेकुराबाट बच्नुहोस्। मदिरा सेवन सीमित गर्नुहोस् र धूम्रपान बन्द गर्नुहोस् ।
४. निद्रा पूरा गर्नुहोस्
निद्रा पर्याप्त भएन भने भोक हर्मोनलाई असर गर्न सक्छ। यसले गर्दा थप खानाको चाहना हुन्छ ।
लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार निद्राको कमीले पेटमा उत्पादन हुने घ्रेलिन नामक हर्मोन बढ्छ। यसले भोक बढाउँछ ।
विज्ञहरूले तनाव नलिन र तनाव व्यवस्थापन गर्न सुझाव दिए। तनावले रगतमा तनाव हर्मोन कोर्टिसोल निस्कासन गर्छ।
५. शारीरिक रूपमा सक्रिय रहनुहोस्
शारीरिक व्यायाम र सक्रिय रहनाले क्यालोरीहरू जल्छन्। यसले विशेष गरी पेटको बोसो घटाउन मद्दत गर्दछ ।
नियमित रूपमा तेज हिँडाइ, दौड, साइकल चलाउने, पौडी खेल्ने वा योगा गर्नाले बोसो घटाउने मात्र नभइ मेटाबोलिज्मलाई पनि गति दिन्छ ।
व्यायामले मांसपेशीहरूलाई बलियो बनाउँछ। यसले मुटुलाई स्वस्थ राख्छ। पेट वरिपरि जम्मा भएको बोसो घटाउनाले मधुमेह, उच्च रक्तचाप र मुटु रोगको जोखिम पनि कम हुन्छ ।