सर्लाही, २६ साउन । कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा मृत्यु भएका कैदीबन्दी भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ ।

आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक कैदीबन्दी चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । बैठकले मृतक कैदीबन्दी चौधरीको परिवारलाई राहत दिनेसँगै कारागारको सुरक्षा व्यवस्था चुस्त बनाउन ११ बुँदे निर्णय गरेको छ ।

साथै झडपमा घाइते भएका कैदीबन्दीहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको छ । बैठकले कारागारमा हेलोजन लाइट, सीसी क्यामेरा यथाशीघ्र जडान र कारागारको छानो लगायत आवश्यक मर्मत सम्भारको कार्य प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल शुरू गर्ने निर्णय गरेको छ ।

कारागारका लागि आवश्यक उपकरण तथा साधनहरूको व्यवस्था कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा गर्ने बैठकको निर्णय छ ।

कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको भन्दै आलोचना भएकोमा बैठकले क्षमताअनुसारको कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभाग समन्वय गर्ने बैठकको निर्णय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *