सर्लाही, २६ साउन । नेपाल सरकारले रोजगारीका अवसरहरू खोज्ने व्यक्ति र कर्मचारीको आवश्यकता भएका रोजगारदाताहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले ‘श्रम संसार’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा विकास गरिएको यो प्रणाली वेबसाइट र मोबाइल एप दुवैमा उपलब्ध छ । यसले आन्तरिक रोजगारीका साथै वैदेशिक रोजगारीका अवसरहरू पनि प्रदान गर्नेछ ।
श्रम संसार’ लाई नागरिक एपसँग पनि जोडिएको छ । यो पहलले काम खोज्ने र कामदार खोज्ने बीचको खाडल पुर्ने सरकारको अपेक्षा छ ।
कसरी प्रयोग गर्ने श्रम संसार एप ?
श्रम संसार एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । एप डाउनलोड गरेपछि प्रयोगकर्ताले पहिले नै खाता बनाएको भए लगइन गर्न सक्छन् वा नयाँ खाता सिर्जना गर्न ‘साइन अप’ विकल्पमा जानुपर्छ । नयाँ खाता खोल्दा निम्न जानकारी भर्नुपर्छ:
- व्यक्तिगत विवरण: नाम, थर, मोबाइल नम्बर, ईमेल र पासवर्ड ।
- अन्य व्यक्तिगत जानकारी: लिङ्ग, जात, जन्ममिति, स्थायी ठेगाना (प्रदेश, जिल्ला, नगरपालिका/गाउँपालिका, वडा र टोल) र अस्थायी ठेगाना । यदि स्थायी र अस्थायी ठेगाना एउटै भए, ‘Same as Permanent Address’ मा टिक लगाउनुपर्छ ।
- रोजगारी प्राथमिकता (Job Preference):
- फर्किएका आप्रवासी हुनुहुन्छ ? (Are you a returnee migrant?) भन्ने प्रश्नमा ‘हो’ वा ‘होइन’ छनोट गर्नुपर्छ ।
- रोजगारीको स्थिति (Employment Status): तपाईं रोजगारमा हुनुहुन्छ, बेरोजगार हुनुहुन्छ वा स्वरोजगार हुनुहुन्छ सो खुलाउनु पर्छ ।
- मनपर्ने रोजगारीको क्षेत्र (Preferred Employment Area): कुन क्षेत्रको काम खोज्नुभएको हो सो भर्नुपर्छ ।
- मनपर्ने रोजगारीको स्थान (Preferred Employment Location): कुन ठाउँमा काम गर्न चाहेको हो सो उल्लेख गर्नुपर्छ ।
- दर्ताको उद्देश्य (Purpose of Registration) र एपबारे कसरी थाहा पाउनुभयो (How did you hear about us): यी विवरणहरू पनि भर्नुपर्छ ।
प्रोफाइलमा थप विवरण र कागजातहरू:
- पेसागत सारांश (Professional Summary): यो अनिवार्य छैन । तर आफ्नो पेसागत अनुभवबारे लेख्न सकिन्छ ।
- पहिचान (Identification): नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका परिचयपत्रको विवरण, परिचयपत्र नम्बर, जारी मिति र जारी गर्ने कार्यालय भर्नुपर्छ ।
- अनुभव (Experience): यदि कुनै अनुभव छैन भने ‘I have no prior work experience’ मा टिक लगाउन सकिन्छ । अनुभव भएमा काम गरेको मिति, पद, संस्थाको नाम र जिम्मेवारीहरू भर्नुपर्छ ।
- शिक्षा (Education): औपचारिक शिक्षा नलिएको खण्डमा ‘I have not received formal education’ मा टिक लगाउनुपर्छ । औपचारिक शिक्षा लिएको भए कुन तहसम्म पढेको, कहिले पास गरेको, कलेज/विश्वविद्यालय र कोर्सको विवरण तथा प्राप्त प्रतिशत वा जीपीए भर्नुपर्छ ।
- प्रमाणीकरण/तालिम (Certification/Training): कुनै तालिम लिएको भए सोको विवरण उल्लेख गर्नुपर्छ ।
- सीप (Skills): आफ्नो दक्षता वा सीपहरू (जस्तै: ग्राफिक डिजाइन, भिडिओ एडिटिङ) छनोट गर्नुपर्छ र थप सीप भएमा आफैँ उल्लेख गर्न सकिन्छ ।
- भाषा (Language): नेपाली र अंग्रेजी भाषाको पठन, लेखन र बोल्ने क्षमताको स्तर भर्नुपर्छ । थप भाषाको ज्ञान भएमा सो पनि उल्लेख गर्न सकिन्छ ।
- ड्राइभिङ लाइसेन्स (Driving License): कुन-कुन सवारीसाधन चलाउने लाइसेन्स छ सोको विवरण भर्नुपर्छ ।
- सीभी अपलोड: प्रोफाइलको माथि दायाँपट्टि रहेको तीन थोप्लामा ट्याप गरी सीभी (CV) अपलोड गर्न सकिन्छ ।
- प्रमाणीकरण (Verification): खाता प्रमाणित गर्न परिचयपत्रको फोटो अपलोड गर्नुपर्छ ।
रोजगारीका अवसरहरू र आवेदन
श्रम संसार एपमा विभिन्न क्षेत्रका आन्तरिक र वैदेशिक रोजगारीका अवसरहरू हेर्न सकिन्छ । एपभित्र ‘डोमेस्टिक’ र ‘फरेन’ गरी दुई विकल्प छन् । जहाँ स्वदेशी र विदेशी रोजगारदाताहरूले आवश्यक कामदारको सूचना राखेका हुन्छन् । प्रत्येक सूचनामा कामको योग्यता, गर्नुपर्ने काम र अन्य आवश्यक विवरणहरू खुलाइएको हुन्छ ।
आफ्नो योग्यता, तालिम र सीप अनुसारको रोजगारी छनोट गरी ‘Apply’ बटनमा ट्याप गरेर आवेदन दिनुपर्छ । आवेदन दिँदा सीभी अनिवार्य अपलोड गर्नुपर्छ ।