सर्लाही, ३१ साउन । कथानक फिल्म ‘अभिमन्यु’को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । आइटम डान्स जुना सुन्दासको छ । नृत्य निर्देशन रोहन विश्वकर्माको छ । गीतमा भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ । नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै छ । युवायुवतीको एकअर्काप्रतिको चाह गीत र भिडियोमा देख्न सकिन्छ ।

फिल्ममा तराईको पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको देखिन्छ । यो फिल्म भदौ २७ गतेदेखि प्रदर्शन तयारीमा छ । हिन्दी भर्सन असोज ६ मा आउँदैछ । हिन्दी संस्करण विश्वब्यापी रिलिज हुने जानकारी निर्माता विनोद पौडेलले दिए ।

फिल्मले पैसाको लोभले समस्यामा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने व्यक्तिको कथा भन्छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालले पटकथा लेखेका हुन् । निर्मातामा पौडेल र गुञ्जन गिरी छन् । रमेश चौलागाई र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *