एजेन्सी, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्काबाट वाशिङ्टन फर्किनुभएको छ । रूसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा उच्चस्तरीय भेटवार्ता सकेर उहाँ वाशिङ्टन फर्किनुभएको हो ।

ट्रम्पले पुटिनसँग भएको वार्तापछि युक्रेन मामिलामा थप प्रगति भएको र यसबारेमा युक्रेन, युरोप र नेटो सदस्य देशसँग छलफल गर्ने बताउनुभएको छ ।

ट्रम्प–पुटिन वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । तर उहाँहरुले वार्तालाई निक्कै सकारात्मक र प्रगतिउन्मुख भएको प्रतिक्रिया दिनुभएको छ ।

ट्रम्पले संयुक्त पत्रकार सम्मेलनमा वार्ता सकारात्मक भएको र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नेटो नेताहरू र अन्य पक्षसँग छलफल गरी वार्ताको विषयमा जानकारी दिने बताएको बीबीसीले जनाएको छ ।

वार्तामा के सहमति भयो भन्ने चासो भए पनि यसबारेमा ट्रम्प र पुटिन दुवैले खुलाउनुभएको छैन ।

रुसी राष्ट्रपति पुटिनले बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएको बताउनुभएको छ । साथै उहाँले ट्रम्पसँगको अर्को भेट मस्कोमा गर्न प्रस्ताव समेत गर्नुभएको छ ।

युक्रेनसँगको युद्धविरामका लागि पुटिनले यसअघिका आफ्ना अडानलाई दोहोर्‍याउनुभएको छ । ट्रम्पसँगको वार्तामा पुटिनले आफ्ना विगतका अडानहरू कायमै राखेको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

युक्रेनको ठूलो भाग रूसी नियन्त्रणमा राख्ने, युक्रेनलाई नेटोमा सहभागी नगराउनेलगायत पुटिनको अडान छन् । तर युक्रेन र पश्चिमा देशले यी मागलाई अस्विकार गर्दै आएका छन् ।

अलास्कामा पुटिनलाई भव्य स्वागत गरिएको थियो । डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका क्रममा आफू राष्ट्रपतिमा विजयी भए २४ घण्टामै रुस–युक्रेन युद्ध अन्त्य गर्ने भन्नुभएको थियो । तर उहाँ विजयी भएको ९ महिना बितिसक्दा पनि बाचा पूरा हुन सकेको छैन । ट्रम्प र पुटिनबीचको पछिल्लो भेटवार्तालाई चासोपूर्वक हेरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *