सर्लाही, ०३ भदौ । आज मङ्गलबारदेखि सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो पटक भित्रिएको दिपलको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चाङ्गन अटोसँग सहकार्यमा नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिन ईभीटोललाई नाडा अटो शोमा राख्न लागेको हो ।
एमएडब्लू वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुहरूसँग प्रत्यक्ष संवाद गर्दै मानिसहरूको जस्तो गतिविधि गर्नेछन् । यी नविनतम प्रविधिले नाडा अटो शोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने आशा आयोजकले गरेको छ ।
नयाँ प्रविधिहरूसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरू दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मिश्रणकै कारण यो नयाँ एसयूभी लोकप्रिय बन्न पुगेको हो ।
नेपालमा लक्जरी ईभी ब्रान्डको छवि बनाउँदै गरेको दिपलका सबै ईभीहरू नाडाको एवन र एटु स्टलमा प्रत्यक्ष रूपमा अनुभव गर्न सकिनेछ ।