सर्लाही, ०४ भदाै । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडि बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको बताएका छन् ।
नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरूको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना व्यक्त गरे ।
‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने,’ उनले भने, ‘विशेष गरी तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दु:ख व्यक्त गर्ने परम्परा हो। दिदिबहिनीहरूले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरि, मौलिकता नविर्सिकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’
चेलीबेटीहरूले तीजमा गीत र नृत्यमार्फत सुखदु:ख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उनले तीज मनाउँदा यसको मौलिकता भुल्न नहुनेमा जोड दिए ।
सिंहले काठमाडौं क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गरे ।
उपप्रधानमन्त्री सिंहले तीज महिलाहरुका लागि विशेष पर्व रहेको भन्दै मौलिकता जोगाएर तीज मनाउन सुझाव दिए ।
उनले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसहितका महिला नेतृहरूको भूमिका बिर्सन नहुने पनि बताए ।
‘पुृरुष सरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन कि अधिकारसँगे आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिलाहरु सजग हुनुपर्छ,’ उनले भने ।
नेपाल महलिा संघकै कारण महिलाहरुको मताधिकार पाएको, छोरीलाई पनि छोरा सरह पढ्न पाउने अधिकार सुरक्षित भएको र छोरीको सम्पत्तिमा हक स्थापित भएको भन्दै महिला संघलाई कार्यक्रम आयोजनाका लागि धन्यवाद दिए ।
कार्यक्रममा कांग्रेस नेतृ कल्याणी रिजाल, मंगलादेवी सिंह फाउण्डेसनकी अधयक्ष सिर्जना सिंह, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाललगायतले तीजको अवसरमा शुभकामना व्यक्त गरे ।