सर्लाही, ०५ भदाै । मधेश प्रदेशमा यस वर्ष पर्याप्त वर्षा नभए पनि तरकारीको मूल्य भने लगातार आकासिँदै गएको छ । साउन महिनायता हरिया तरकारीको भाउ दोब्बरले बढेको छ भने भदौ लागेसँगै मूल्य अझै चुलिएको छ । नजिकिँदै गरेका तीज लगायतका चाडपर्वले माग थपिएको र आपूर्ति घटेकाले मूल्य अझै बढ्न सक्ने व्यापारिहरू बताउँछन् ।

मलंगवामा तरकारी बजारमा परवल प्रतिकिलो ९० रुपियाँ, गोलभेँडा ८० देखि १००, काउली १५० रुपियाँसम्म पुगेको छ । यस्तै, पहाडी आलु ७०, करैला ८०, घिरौंला ५०, झिमनी ४०, पिडालु ६०, हरियो फर्सी ४० रुपियाँ प्रतिकिलो पुगेका छन् । लोकल ओल १५० र भ्यान्टासमेत १०० रुपियाँ पुगेपछि उपभोक्ता आवश्यकभन्दा कम तरकारी किन्न बाध्य छन् ।

प्रति किलो हजार रुपियाँ पुगेको हरीयो धनियाको पातको मूल्य त यहाँ चर्चाको विषय बनेको छ । मल‌गवाका होटल व्यवसायीहरुले अप्रत्याशित मूल्यवृद्धिले व्यवसायमै असर परेको गुनासो गर्नुभयो ।

अहिले हिउँदे तरकारी लगाउने समय भएकाले उत्पादनमा कमी आएको जनाइएको छ ।

मधेशमा झरेका पाहाडी तरकारीहरु मलंगवाको बजार हुँदै भारत निर्यात हुने क्रम बढेकोले पनि स्थानीय बजारमा अभाव देखिएको छ ।

उत्पादन घटेको, आयात बन्द भएको र ढुवानी खर्च बढेकाले तत्काल तरकारीको मूल्य घटने सम्भावना नरहेको स्थानीय व्यापारीको आँकलन छ । चाडपर्व नजिकिँदै गर्दा मूल्य अझै चुलिन सक्ने सम्भावनाले उपभोक्ता थप मारमा पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *