सर्लाही, ११ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको बताएका छन् ।
अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितालाई सम्बोधन गर्दै जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताए ।
उनले भने, ‘१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठुलो योगदान दिएको थियो । रणमैदानमा दुस्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।’
उनले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए ।
खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान् योद्धाको रूपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताए ।
उनले भने, ‘भक्त राणा मगर युद्धमा नै घाइते हुनुभयो, उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो । उहाँको स्मृति हामी सबैको मनमा ताजा छ ।’