सर्लाही, ११ भदाै । गत फागुनमा भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि केही विद्यार्थीले नेपालमा पढ्न चाहेका थिए ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले केआईआईटीमा भएको समस्याको कारण नेपाल फर्किन बाध्य नेपाली विद्यार्थीलाई भर्ना गर्न सकिने सूचना पनि जारी गरेका थिए । तर, कानुनी समस्या आएको थियो ।

अब विदेशको कुनै विश्वविद्यालयमा पढिरहेको विद्यार्थीले नेपालमा पढ्न चाहेमा क्रेडिट आवार ट्रान्सफर हुने कानुनी बाटो खुलेको छ । ‘पहिले क्रेडिट आवर ट्रान्सफर सम्बन्धी स्पष्ट नीति थिएन ।

विश्वविद्यालयहरूले आफ्नो हिसाबले गरेका थिए । अब कानुनमा नै क्रेडिट ट्रान्सफर हुने व्यवस्था आएको छ,’ विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले भने ।

क्रेडिट ट्रान्सफर र क्यूएए आयोगबाट

केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०८२ ले विश्वविद्यालय अनुदान आयोगको ऐन २०५० लाई संशोधन गरेर क्रेडिट ट्रान्सफर गर्न मिल्ने नियम बनाएको हो । ‘विश्वविद्यालयबीच क्रेडिट ट्रान्सफरको सम्बन्धमा निर्देशिका बनाइ आवश्यक व्यवस्था गर्ने,’ संशोधन गरिएको ऐनमा भनिएको छ ।

आयोग अध्यक्ष अधिकारीका अनुसार विश्वविद्यालयको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) सम्बन्धी कार्य गर्ने अधिकार पनि आयोगलाई दिइएको छ । ‘विश्वविद्यालयको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी कार्य गर्ने,’ आयोगको संशोधित ऐनमा छ । यो नियमलाई कार्यान्वयन गर्न विश्विद्यालय अनुदान आयोगले कार्यविधि बनाइरहेको छ । ‘अहिले कार्यविधि बनाउँदै छौँ । कार्यविधिमा सबै स्पष्ट रूपमा आउँछ,’ अध्यक्ष अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *