सर्लाही, १३ भदाै । संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने खालको नीति ल्याउन खोजिएको भन्दै सर्लाहीका पनि निजी विद्यालय सञ्चालकले बिहीबार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिएका थिए ।

बिहानैदेखि कालो ब्यानर र प्लेकार्डसहित जुटेका बोर्डिङ विद्यालय सञ्चालकहरूले शिक्षा मन्त्रालयको प्रस्तावित नीतिको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरू “पूर्ण छात्रवृत्ति शब्द खारेज गर”, “विद्यालय बस, पुस्तक र पोसाकमा छात्रवृत्ति दिन सक्दैनौं”, “१० प्रतिशत छात्रवृत्ति व्यवस्था हटाऊ” लगायतका नारासहित प्लेकार्ड बोकेका थिए ।

विरोध प्रदर्शनका क्रममा विद्यालय सञ्चालकहरूले कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई गैर–नाफामूलक बनाउने भनिएको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले विद्यालयमा उत्पादन नहुने खाजा, खाना, पोसाक, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरूको व्यवस्थामा सरकारले हस्तक्षेप गर्नु नहुने माग पनि गरेका छन् ।

प्रदर्शनकारीहरूको भनाइ अनुसार छात्रवृत्तिको व्यवस्था सम्बन्धित विद्यालयको निर्णयअनुसार हुनुपर्ने र सरकारले बाध्यकारी रुपमा नियम नलगाउनुपर्ने माग प्रस्तुत गरिएको छ ।

विरोध प्रदर्शन जिल्ला भरका निजी विद्यालयहरूका सञ्चालकहरूको सहभागितामा सम्पन्न भएको थियो । आन्दोलन केन्द्रीय समितिको निर्देशनअनुसार भएको हो भने सर्लाहीको पक्षबाट संयोजन सनराइज आवासीय विद्यालय, हरिवनका सञ्चालक प्रवेश न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *