अफगानिस्तान भूकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

Byसदाम हुसैन

२०८२ भाद्र १६, सोमवार २०८२ भाद्र १६, सोमवार २०८२ भाद्र १६, सोमवार

काठमाडौं, १६ भदौ। अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।

भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको हो ।

खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ ।

भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावाददेखि २७ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा थियो ।

भूकम्पको केन्द्रबाट झण्डै ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामावादसम्म धक्का महसुस गरिएको थियो ।

मध्यरातमा आएको भूकम्पले माटो र ढुंगाले बनेका ग्रामिण क्षेत्रका अधिकांश घरहरू भत्किएका छन् ।

सञ्चारमाध्यममा आएका भिडियो फुटेजहरूमा हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गरिरहेको देखिन्छ ।

भूकम्पले भत्किएका भग्नावशेषमा खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

गृहयुद्ध सकिएर उकासिन खोजिरहेको अफगानिस्तानमा आएको यति ठूलो भूकम्पले देशलाई पुन: संकटमा पारेको छ ।

मानवीय संकटसँग लडिरहेको दक्षिण एशियाली मुलुक अफगानिस्तानले वाह्य सहायता समेत तीव्ररूपमा कटौतीको सामना गरिरहेको छ ।

तालिबान सरकारको आन्तरिक मन्त्रालयले पूर्वी प्रान्त कुनार र नाग्गाहारमा थुप्रै घरहरू भत्किएका र ठूलो धनजनको क्षति भएको जनाएको छ ।

‘पूर्ण सहायताका लागि उद्धार र राहतमा हाम्रा सबै टोलीहरूलाई परिचालित छन्,’ मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीले भने, ‘सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणका लागि प्रयास भइरहेको छ ।’

भूकम्प र बाढीले प्राय: प्रभावित भइरहने ग्रामिण क्षेत्रमा उद्धारकर्मीहरू परिचालित भइरहेका राजधानी काबुलका अधिकारीहरूले बताएका छन् ।

पछिल्लो पटक सन् २०२२ मा अफगानिस्तामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला झण्डै एक हजार मानिसको मृत्यु भएको थियो । गएराति त्यसयताकै ठूलो भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *