सर्लाही, १७ भदाै । मेटाका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटले अब किशोरकिशोरीहरूसँग आत्महत्या बारे कुरा नगर्ने भएका छन् । कम्पनीले थप सुरक्षा उपायको रूपमा किशोरकिशोरीहरूसँग आत्महत्या, आत्म-हानि र खाने कुरासम्बन्धी समस्या जस्ता विषयमा कुरा गर्नबाट आफ्ना एआईलाई रोक्ने घोषणा गरेको हो ।

मेटाको यो घोषणा एक अमेरिकी सिनेटरले कम्पनीको आन्तरिक कागजातबाट लिक भएको नोटमाथि अनुसन्धान सुरु गरेको दुई हप्तापछि आएको छ । जसमा मेटाका एआई उत्पादनले किशोरकिशोरीहरूसँग संवेदनशील कुराकानी गर्न सक्ने उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

कम्पनीले सञ्चार माध्यममा आएका ती कागजातका नोटहरूलाई गलत र आफ्ना नीतिहरूसँग असङ्गत भनेको छ । जसले बच्चाहरूलाई कामुक तथा उत्तेजक तुल्याउने सामग्रीलाई निषेध गर्दछ । अब भने मेटाले आफ्ना च्याटबटले किशोरकिशोरीहरूलाई आत्महत्या जस्ता संवेदनशील विषयहरूमा कुराकानी गर्नुको साटो विशेषज्ञ स्रोतहरूमा निर्देशित गर्नेछ ।

मेटाका प्रवक्ताले भनेका छन्, “हामीले सुरुदेखि नै हाम्रा एआई उत्पादनहरूमा किशोरकिशोरीहरूका लागि सुरक्षाको ख्याल गरेका छौँ, जसमा आत्म-हानि, आत्महत्या र खाने कुरासँग सम्बन्धित समस्या जस्ता प्रश्नहरूको सुरक्षित रूपमा जवाफ दिन तिनीहरूलाई डिजाइन गरिएको छ ।”

मेटाले टेकक्रञ्चलाई बताए अनुसार अत्यन्त सावधानीको रूपमा अरू सुरक्षा उपायहरू थपिनेछन् र किशोरकिशोरीहरूले अन्तरक्रिया गर्न सक्ने च्याटबटहरूलाई अस्थायी रूपमा सीमित गरिनेछ ।

हालै क्यालिफोर्नियाको एक जोडीले आफ्नो किशोर छोराको मृत्युलाई लिएर च्याटजीपीटी निर्माता ओपनएआई विरुद्ध मुद्दा हालेको छ । जसमा च्याटबटले उनलाई आत्महत्याका लागि प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *