सर्लाही, १८ भदाै । चीनको राजधानी बेइजिङमा बुधबार दोस्रो विश्व युद्धमा जापानको हारको ८० वर्ष पूरा भएको अवसरमा विजय दिवस परेड आयोजना गरिएको छ । राष्ट्रपति सी चिनफिङले तियानमेन स्क्वायरमा उक्त कार्यक्रमको उद्घटना गरेका छन् ।
चिनफिङले आफ्नो भाषणको सुरुआत इतिहासको सम्मान गर्ने र भविष्यतर्फ हेर्ने अवसरका रूपमा भएको बताए । उनले युद्धको विजयमा योगदान दिने दिग्गज, साथी र देशभक्तहरूलाई श्रद्धाञ्जलि अर्पण गरे । उनले परेडमा सहभागी हुने विश्व नेताहरूको पनि स्वागत गरका थिए ।
चिनफिङले विश्वका देशहरूलाई युद्धका वास्तविक कारणहरूलाई समाप्त गर्न र विगतका दुखद घटनाहरूलाई दोहोरिन नदिन आग्रह गरे । उनले सबै देशहरूले समानताका साथ व्यवहार र आपसी मेलमिलाप र एक–अर्कालाई सहयोग गरे मात्रै वास्तविक सुरक्षा प्राप्त गर्न सकिने बताए ।
यो परेडमा १० हजारभन्दा बढी चिनियाँ सैनिक सहभागी थिए । यो तियानमेन स्क्वायरमा उनको अध्यक्षतामा आयोजना भएको तेस्रो ठूलो सैन्य परेड हो । चीनले यसलाई पश्चिमी देशहरूविरुद्ध ‘ग्लोबल साउथ’को एकता र आफ्नो सैन्य शक्तिको प्रदर्शन गर्ने माध्यमको रूपमा पनि प्रयोग गरिरहेको छ ।
यो अवसरमा मञ्चमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ–उन, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमजस्ता ठूला नामहरूसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायका विश्वका विभिन्न देशका नेताहरू उपस्थित थिए ।
सयौँ आधुनिक हतियारहरूसहित यो परेड गरिएको थियो । चिनियाँ सञ्चारमाध्यमका अनुसार बेइजिङमा सैन्य परेड हेर्न ५० हजारभन्दा बढी मानिस भेला भएका थिए ।
चिनफिङले भने– मानव सभ्यताको रक्षामा चीनको ठूलो योगदान
चीनका राष्ट्रपति सी चिनफिङले परेडलाई सम्बोधन गर्दै जापानी आक्रमणविरुद्ध लडेको युद्ध धेरै कठिन तर महान् संघर्ष भएको बताए । उनका अनुसार यो आधुनिक समयमा कुनै विदेशी आक्रमणमाथि चीनको पहिलो ठूलो विजय थियो । इतिहासले विभिन्न देशहरूले यस्तो त्रासदीलाई फेरि दोहोरिन नदिन मिलेर काम गर्नुपर्ने सम्झना दिलाउँने बताए ।
सी चिनफिङले यो विजय चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को नेतृत्व र देशको एकताका कारण प्राप्त भएको जानकारी दिए । चिनफिङले दोस्रो विश्व युद्धमा चीनका जनताले ठूलो बलिदान दिएको र मानव सभ्यताको रक्षा तथा विश्व शान्तिलाई जोगाउन ठूलो योगदान गरेको बताए ।
उनले आफ्नो भाषणमा विश्वका देशहरूलाई युद्धका वास्तविक कारणहरूलाई समाप्त गर्न र विगतका दुखद् घटनाहरूलाई फेरि दोहोरिन नदिन आग्रह गरे ।
चिनफिङले आज मानवतासामु फेरि शान्ति वा युद्ध, संवाद वा टकरावमध्ये एउटा छनोट गर्ने अवसर आएको बताए ।
चिनफिङले चीन शान्ति र विकासको बाटोमा हिँड्ने र विश्वका अन्य देशहरूसँग मिलेर यस्तो समुदाय बनाउनेमा जोड दिए ।

जापानले सन् १९४५ मा गरेको थियो आत्मसमर्पण
चीन र जापानबीच सन् १९३७ मा युद्ध सुरु भएको थियो । त्यसबेला जापानले चीनमाथि आक्रमण गरेर त्यसको ठूलो हिस्सा कब्जा गरेको थियो । जापानी सेनाले चीनको नानजिङ सहरमा नरसंहार गरेको थियो, जसमा करिब तीन लाख मानिस मारिएका थिए । यस युद्धलाई सन् १९३९ मा सुरु भएको दोस्रो विश्व युद्धको हिस्सा मानिन्छ ।
पछि जापानले अमेरिकाको आणविक हमलापछि १५ अगस्ट १९४५ मा आत्मसमर्पण गरेको थियो, त्यसपछि उसले २ सेप्टेम्बर १९४५ मा चीनविरुद्ध पनि हार स्वीकार गरेको थियो । बीबीसी