सर्लाही, २३ भदाै । भ्रष्टाचारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजी समूहले आफ्नो प्रदर्शनमा घुसपैठ भएको बताएको छ । 

कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गरी आन्दोलनमा घुसपैठ भएको जनाएका हुन् । 

‘आजको कार्यक्रम हामीले पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरेका छौँ’ उनीहरूले भनेका छन्, ‘तर बीचबीचमा केही गलत प्रवृत्ति भएका समूह वा व्यक्तिहरू, वा सम्भावित राजनीतिक/राज्यका षड्यन्त्रकारी प्रयासहरू मार्फत हाम्रो आन्दोलनलाई निस्तेज पार्ने कोसिस गरिएको अनुभव भएको छ ।’

उनीहरूले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहने भन्दै यसलाई असफल बनाउन गरिएका कुनै पनि प्रयास सफल नहुने दाबी गरेका छन् ।

‘देशका विभिन्न स्थानहरूमा आज भएको जनसहभागिताले हाम्रो उद्देश्य र मागप्रति अझ ठूलो विश्वास र समर्थन रहेको प्रमाणित गरेको छ । यसले हामीलाई हाम्रो यात्रामा अझ नजिक पुर्याएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, उनीहरूले आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपिल गर्दै आफ्ना ‘थिङ्क ट्याङ्क हरि कार्की लगायतसँग सल्लाह गरी अगाडि बढ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *