सर्लाही, २४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आइतबारदेखि सुरु भएको नयाँ पुस्ताको आन्दोलन ‘जेनजी संघर्ष’प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सरकारलाई आन्दोलनरत पक्षहरूसँग संवाद गर्न, दमन बन्द गर्न र सामाजिक सञ्जालमाथिको अवरोध हटाउन आग्रह गरेको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले हालसम्म सरकारले संघर्षरत पक्ष तथा राजनीतिक दलहरूसँग कुनै संवाद नगरेको भन्दै आलोचना गरेको छ । “सरकार वार्तामा नउत्रेर दमनको बाटोमा गएको छ, जुन लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लङ्घन हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीले आन्दोलनमा सहभागी युवाहरूको संयमता नहराउने अपिल गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार र कुशासनविरुद्ध उठेको आवाजप्रति हाम्रो पार्टी सम्मान व्यक्त गर्दछ ।”
सरकारको आलोचना गर्दै माओवादीले दलाल पुँजीवादी सत्तालाई “भ्रष्टाचारमुखी” भन्दै कडा विरोध जनाएको छ । आन्दोलनका क्रममा हत्या गरिएका नागरिकको परिवारलाई तत्काल क्षतिपूर्ति दिनु पर्ने माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरिएको छ । साथै, गिरफ्तार गरिएका सम्पूर्ण व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ ।
माओवादीले युवा पुस्तालाई केवल भ्रष्टाचार र बेतिथिविरुद्ध मात्रै नभई शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, वैज्ञानिक भू-नीति, सामाजिक सुरक्षा लगायतका मुद्दामा केन्द्रित भएर आन्दोलन गर्न आह्वानसमेत गरेको छ ।
